
काठमाडौं ।
एप्पलले अमेरिकी अदालतको आदेश उल्लङ्घन गरेको ठहर गर्दै क्यालिफोर्नियाका एक संघीय न्यायाधीशले बुधबार सो मुद्दालाई संघीय अभियोजन कार्यालयमा सिफारिस गर्ने निर्णय गरेका छन्।
उक्त आदेशले एप्पललाई आफ्नो एप स्टोरमा एप डाउनलोड र भुक्तानीका वैकल्पिक माध्यमहरूलाई प्रतिस्पर्धा गर्न दिनुपर्ने निर्देशन दिएको थियो।
ओकल्याण्डस्थित अमेरिकी जिल्ला न्यायाधीश इभोन गोन्जालेज रोजर्सले ८० पृष्ठ लामो फैसलामा एप्पल ले “फोर्टनाइट” बनाउने कम्पनी एपिक गेम्स द्वारा दायर गरिएको एन्टिट्रस्ट मुद्दासम्बन्धी अघिल्लो आदेशको पालना नगरेको बताइन्।
एपिक गेम्सका प्रमुख कार्यकारी अधिकृत टिम स्विनीले न्यायाधीशको आदेशलाई विकासकर्ता र उपभोक्ताहरूका लागि एक ठूलो विजय भएको बताएका छन्। “यसले एप्पल लाई अन्य भुक्तानी सेवासँग प्रतिस्पर्धा गर्न बाध्य पार्दछ, जुन हामीले सधैं चाहेका थियौं,” स्विनीले पत्रकारहरूलाई बताएको रोयटर्सले उल्लेख गरेको छ।
स्विनीका अनुसार एपिक गेम्सले फोर्टनाइट एप अर्को हप्ता एप स्टोरमा फर्काउने लक्ष्य राखेको छ। एप्पल ले २०२० मा आईफोन प्रयोगकर्ताहरूलाई सस्तो भुक्तानी विकल्पका लागि एप्पल को प्रणालीबाहिर लैजान दिएपछि एपिकको खाता हटाएको थियो।
एपिकले एप्पललाई एप डाउनलोडमा प्रतिस्पर्धा नहुने गरी नियन्त्रण गरेको र एपभित्रको किनमेलमा अत्यधिक शुल्क लिएको आरोप लगाएको छ।
सन् २०२१ मा न्यायाधीश गोन्जालेज रोजर्सले एप्पलले क्यालिफोर्नियाको प्रतिस्पर्धा सम्बन्धी कानुन उल्लङ्घन गरेको भन्दै विकासकर्ताहरूलाई अन्य भुक्तानी विकल्पतर्फ प्रयोगकर्ताहरूलाई लैजान छुट दिनुपर्ने आदेश दिएकी थिइन्।
एप्पलले सन् २०२३ मा अमेरिकी सर्वोच्च अदालतलाई उक्त आदेश खारेज गराउन आग्रह गरेको थियो, तर त्यो प्रयास असफल भएको थियो।
सन् २०२४ को मार्चमा एपिक गेम्सले अदालतमा बताए अनुसार एप्पलले आदेशको “खुलमखुला उल्लंघन” गरिरहेको छ, विशेष गरी स्टोर बाहिरको भुक्तानीमा २७ प्रतिशत नयाँ शुल्क लगाएर। एप्पलले एप स्टोर भित्रको किनमेलमा ३० प्रतिशत शुल्क लिन्छ।
एपिकका अनुसार एप्पल ले बाह्य लिंकहरू प्रयोग गर्दा उपभोक्तालाई डराउने किसिमका चेतावनीहरू देखाउन थालेको छ, जसले गैर-एप्पल भुक्तानीलाई हतोत्साहित गर्छ। एपिकले यसलाई “व्यावसायिक रूपमा प्रयोग गर्नै नसकिने” प्रणाली भनेको छ।
एप्पलले भने आफूले कुनै गल्ती नगरेको दावी गरेको छ। कम्पनीले मार्च ७ मा अदालतमा पेश गरेको दस्तावेजमा उसले आदेशको पालना गर्न “ठूलो प्रयास” गरेको र जसमा आफ्नो व्यापार मोडलको मूल विशेषता जोगाउने र उपभोक्ताको सुरक्षा गर्ने प्रयास पनि गरेको समावेश छ।
न्यायाधीश रोजर्सले पहिलेको सुनुवाइमा एप्पलको नयाँ नीतिको उद्देश्य प्रतिस्पर्धा रोक्नु बाहेक अरु केही नभएको संकेत दिएकी थिइन्। बुधबारको फैसलामा न्यायाधीशले एप्पल लाई तुरुन्तै विकासकर्ताहरूले प्रयोगकर्तासँग संवाद गर्न पाउने अधिकारमा बाधा नदिन र एपबाहिरको किनमेलमा नयाँ शुल्क नलगाउन निर्देशन दिएकी छन्।
‘एप्पलले अब यो निर्णय रोकिन आग्रह गर्न सक्दैन, किनभने पटक–पटक ढिलाइ गरिँदै आएको छ र व्यवहार गम्भीर प्रकृतिको छ। एप्पलले उल्लंघनबाट पाएको लाभ खोसिने कि होइन भन्ने निर्णय कार्यपालिका तहले गर्नेछ, उनले लेखेकी छन्।
प्रकाशित: १८ बैशाख २०८२, बिहीबार