नागरिक एपको युजर आईडी लिन आफ्नै नाममा रहेको सिम प्रयोग हुने विद्युतीय उपकरण मार्फत आवेदन दिनु पर्ने

  • Technology Khabar | १२ बैशाख २०८२, शुक्रबार
नागरिक एपको युजर आईडी लिन आफ्नै नाममा रहेको सिम प्रयोग हुने विद्युतीय उपकरण मार्फत आवेदन दिनु पर्ने

काठमाडौं ।

सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन दिग्दर्शन, २०८२ प्रकाशित गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै ४ परिच्छेद र १२ दफायुक्त दिग्दर्शन प्रकाशन गरेको हो। दिग्दर्शनको परिच्छेद २ मा नागरिक एपमा आवद्ध गर्नेसम्बन्धी व्यवस्था गरिएको छ।

जस अन्तरर्गत नागरिक एपको प्रयोग गरी सेवा लिन चाहने नागरिकले प्रयोगकर्ताको रुपमा युजर आइडी लिन आफ्नै नाममा रहेको सिम प्रयोग हुने विद्युतीय उपकरण मार्फत आवेदन दिनु पर्नेछ।

यसरी आवेदन गर्दा आवेदकको सिम प्रयोग हुने विद्युतीय उपकरणमा वान टाइम पासवर्ड (ओटीपी) प्राप्त हुनेछ र सो ओटीपी नागरिक एपमा प्राप्त हुने निर्देशन बमोजिम सम्बन्धित ठाउँमा प्रविष्ट गर्नु पर्नेछ।

वान टाइम पासवर्ड (ओटीपी) आवेदकको सिम प्रयोग हुने विद्युतीय उपकरणमा नआएमा वा गलत ओटीपी प्रविष्ट भएमा आवेदकको दर्ता प्रक्रिया अघि नबढाइने र सोको जानकारी आवेदकलाई एस. एम. एस. मार्फत दिइने उल्लेख छ।

ओटीपी सम्बन्धित ठाउँमा सही रुपमा प्रविष्ट भएको अवस्थामा आवेदकले नागरिक एपमा प्राप्त निर्देशन बमोजिम निम्न विवरण प्रविष्ट गरी प्रक्रिया पूरा गर्नु पर्नेछ:

(क) नाम, थर,
(ख) नेपाली नागरिकता नम्बर जारी जिल्ला र जारी मिति,
(ग) जन्म मिति ।

यसपछि आवेदकले प्रविष्ट गरेको विवरणलाई नागरिक एप प्रणाली मार्फत सम्बन्धित दूरसञ्चार सेवा प्रदायकमा रहेको ग्राहक परिचय विवरण (केवाइसी) सँग भिडाइन्छ। त्यसरी भिडाँउदा सो सिम निजकै नाममा दर्ता भएको पुष्टि भएमा दर्ता प्रक्रिया अघि बढ्ने प्रावधान छ।

दर्ता प्रक्रिया अघि बढाउँदा आवेदकको पहिचान यकिन गरी नागरिक एपमा दर्ता गरी सोको जानकारी एस. एम. एस. मार्फत प्रदान गरिने दिग्दर्शनमा उल्लेख छ।

पहिचान यकिन हुन नसकेका आवेदनको हकमा दर्ता नहुनुका कारण र पुनः आवेदन गर्न अपनाउनु पर्ने प्रक्रिया सम्बन्धमा आवेदकलाई एस.एम.एस. मार्फत जानकारी दिई त्यस्तो दर्ता प्रक्रिया रद्द गरिनेछ।

प्रकाशित: १२ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...