Technology Khabar ८ बैशाख २०८२, सोमबार
काठमाडौं ।
नेपाल इन्जिनियरिङ कलेजले देशको लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै पूर्वविद्यार्थीहरुले प्रशंसा गरेका छन्। कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरुको आकर्षण बढाउन र कलेजको बृहत्तर हितमा काम गर्न कलेजका पूर्वविद्यार्थीहरु एकजुट पनि भएका हुन्।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले स्वदेशमै अन्तराष्ट्रिय स्तरको इन्जिनियरिङ शिक्षा दिएर आफूहरूलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै पूर्वविद्यार्थीहरूले कलेजका शिक्षक शिक्षिकाहरूलाई पनि सम्झिए।
शनिबार कलेजमा आयोजित ‘नेक अल्मुनाई मिट’ मा सहभागी हुँदै पूर्वविद्यार्थीहरुले आफ्नो कलेज जीवनलाई पनि सम्झिए। हाल सरकारी, गैरसरकारी देखि आफ्नै कम्पनी र फर्महरु सञ्चालन गरेर व्यवसायिक क्षेत्रमा स्थापित भएका उनीहरुले तत्कालीन अवस्थामा निजी क्षेत्रबाट मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना नभएको भए आफुहरु इन्जिनियर नै बन्न नसक्ने अवस्थाको चर्चा गरे।
कलेजका प्रथम अल्मुनाईका महासचिव इन्जिनियर दिपक बाबु कंडेलले तत्कालिन समयमा पुल्चोक पछि अन्य इन्जिनियरिङ कलेज नहुँदा धेरै विद्यार्थीहरुको इन्जिनियर बन्ने सपना पूरा नभइरहेको अवस्थामा स्वर्गीय प्रा.डा. दीपक भट्टराई लगायतको अगुवाईमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना भएको बताए।
नेपालको विकासमा चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै कँडेलले कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएको कारणले नै कलेजमा विद्यार्थीको आकर्षण रहेको बताए।
‘यो कलेजले दशौं हजार इन्जिनियर उत्पादन गरिसकेको छ। सुरुवात देखि नै क्वालिटी एजुकेशनमा ध्यान दिएकोले नै कलेज आजसम्म विद्यार्थीको रोजाईमा परेको हो। यसलाई अझ गुणस्तरीय र विश्वस्तरीय बनाउँदै लैजान हामी सबैले भूमिका खेलौं।’ पूर्व विद्यार्थी कँडेलले भने।
प्रकाशित: ८ बैशाख २०८२, सोमबार