एप्पलले आफ्नो ध्यान एआर ग्लासेसमा केन्द्रित, मेटाको ओरियन एआर ग्लासेस भन्दा पहिले रिलीज गर्ने लक्ष्य

Technology Khabar ८ बैशाख २०८२, सोमबार

काठमाडौं ।

ब्लूमबर्गका मार्क गर्मनका अनुसार एप्पलले हल्का तौलको अग्मेन्टेड रियालिटी (एआर) ग्लासेस विकास गर्ने प्रयासहरू तीव्र पारिरहेको बताइएको छ। कम्पनीले एक्सआर र स्मार्ट ग्लासेस खण्डमा मेटाको बढ्दो प्रभुत्वलाई चुनौती दिनको लागि अल्ट्रा–प्रिमियम भिजन प्रो हेडसेटबाहेक थप पहुँचयोग्य वेयरेबल डिभाइसतर्फ आफ्नो दीर्घकालीन रणनीतिलाई पुनः केन्द्रित गरिरहेको देखिएको उल्लेख छ।

एप्पलका सीईओ टिम कुकले एआर ग्लासेसको विकासलाई आफ्नो शीर्ष उत्पादन प्राथमिकता बनाएको रिपोर्टले दाबी गरेको छ। “टिमलाई अरू केही कुराको वास्ता छैन। उत्पादन विकासको लागि यो एक मात्र चीज हो जसमा उनी वास्तवमै आफ्नो ध्यान केन्द्रित गरेर यसमा नै आफ्नो समय बिताइरहेका छन्” भन्दै यस विषयसँग नजिकको एक स्रोतले ब्लूमबर्गलाई बताएको उल्लेख छ।

विशिष्ट दर्शकहरूलाई लक्षित गर्दै ३,४९९ अमेरिकी डलरको मूल्यमा लन्च गरिएको भिजन प्रो भन्दा एप्पलको यो एआर ग्लासेस फर्म (रूप) र फङ्गसन (कार्य) दुवैमा बढी पहुँचयोग्य हुने अपेक्षा गरिएको छ। अझै प्रारम्भिक विकास चरणहरूमा रहेको डिभाइसका लागि मिनिटुराइजेसन (लघुकरण), ब्याट्री इफिसियन्सी र मूल्य निर्धारणको सन्दर्भमा डिभाइसलाई उपभोक्ता–अनुकूल राख्ने जस्ता महत्त्वपूर्ण बाधाहरू पार गर्नु पर्ने छन्।

यो कहिले लन्च हुनेछ?
एप्पलको एआर ग्लासेसको लागि अहिलेसम्म कुनै निश्चित समयरेखा उल्लेख गरिएको छैन र यो प्रोडक्ट लन्च हुनका लागि अझै केही वर्ष लाग्न सक्छ भनि रिपोर्टहरूले सुझाव दिएको छ। एप्पलले भने मेटाको ओरियन एआर ग्लासेस भन्दा पहिले आफ्नो प्रोडक्ट रिलीज गर्ने लक्ष्य राखेको विश्वास गरिएको छ। मेटाको ओरियन एआर ग्लासेसको हाल प्रति प्रोटोटाइप लगभग १०,००० अमेरिकी डलर मूल्य रहेको छ र यो सन् २०३० अघि व्यावसायिकरण हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, एप्पलले एआई–सक्षम सुविधाहरू भएका स्मार्ट ग्लासेस–जस्तो डिभाइसहरू जारी गर्न सक्ने बताइएको छ जुन सम्भवतः भविष्यका एप्पल वाचका साथै एयरपड मोडेलहरूमा एकीकृत गरिने वा हिस्सा हुन सक्ने उल्लेख छ। यी मेटाको सफल प्रोडक्ट ‘रे–ब्यान मेटा स्मार्ट ग्लासेस’ जस्तै हुन सक्ने बताइएको छ जसले फोटोग्राफी, म्यूजिक र भ्वाइस एसिस्टेण्ट समर्थन प्रदान गर्दछ भने वास्तविक एआर क्षमताहरूको अभाव रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ८ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया