Technology Khabar ५ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
वैज्ञानिकहरूले अर्को ताराको परिक्रमा गरिरहेको टाढाको ग्रहमा जीवनको सम्भावना देखिने नयाँ तर अहिलेसम्म अनिश्चित प्रमाण फेला पारेका छन्।
क्याम्ब्रिज विश्वविद्यालयको एउटा टोलीले के२-१८बी (K2-18b) नामक ग्रहको वातावरणको अध्ययन गर्दा त्यस्ता अणुहरू पत्ता लगाएका छन्, जुन पृथ्वीमा केवल सरल जीवहरूले मात्र उत्पादन गर्ने गर्छन्।
यो नासाको जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) द्वारा उक्त ग्रहको वातावरणमा जीवनसँग सम्बन्धित रसायनहरू फेला परेको दोस्रो र अझ आशाजनक घटना हो। तर अनुसन्धान टोली र स्वतन्त्र खगोलशास्त्रीहरूले यो नतिजा पुष्टि गर्न अझ धेरै तथ्यांकहरु आवश्यक रहेको बताएका छन्।
अनुसन्धान टोलीका प्रमुख, क्याम्ब्रिज विश्वविद्यालयको इन्स्टिच्युट अफ एस्ट्रोनोमीका प्राध्यापक निक्कु मधुसूदनले भने, “हामीले चाँडै प्रमाणित गर्न सक्ने अपेक्षा गरेका छौं। यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण हो कि बाहिरी ब्रह्माण्डमा पनि सम्भवतः जीवन छ। एक–दुई वर्षभित्र यो संकेत पुष्टि गर्न सकिने मैले यथार्थमा भन्न सक्छु।”
बीबीसीका अनुसार के२-१८बी पृथ्वीभन्दा दुईगुणा ठूलो छ र पृथ्वीबाट १२४ प्रकाश वर्ष (७ सय ट्रिलियन माइल) टाढा रहेको छ, जुन कुनै पनि मानिसले जीवनभर यात्रा गर्न नसक्ने दूरी हो।
जेडब्लूएसटी यति शक्तिशाली टेलिस्कोप हो कि उक्त ग्रहको वातावरणको ताराबाट आउने प्रकाश विश्लेषण गरेर त्यहाँका अणुहरू पत्ता लगाउन सकिन्छ। केम्ब्रिजको टोलीले उक्त ग्रहको वातावरणमा डीएमएस (डाइमेथिल सल्फाइड) र डीएमडीएस (डाइमेथिल डिसल्फाइड) भन्ने कम्तीमा एक रसायनको संकेत पत्ता लगाएको छ। यी दुवै ग्यासहरू पृथ्वीमा समुद्री फाइटोप्लाङ्कटन र ब्याक्टेरियाले मात्र उत्पादन गर्छन्।
प्राध्यापक मधुसूदनका अनुसार एकैपटकको अवलोकनमा यति धेरै ग्यास फेला परेको देख्दा उनी अचम्मित भए। उनले भने, “हामीले उक्त वातावरणमा अनुमान गरेको ग्यासको मात्रा पृथ्वीको तुलनामा हजारौं गुणा बढी छ। यदि यसको जीवनसँगको सम्बन्ध साँच्चिकै हो भने, त्यो ग्रहमा जीवनले भरिएको हुन सक्छ।”
उनले थपे, “यदि हामीले के२-१८बीमा जीवन भएको पुष्टि गर्यौं भने, त्यो आकाशगङ्गामा जीवन सामान्य रूपमा पाइन्छ भन्ने प्रमाण हुनेछ।”

यसैगरी, कार्डिफ विश्वविद्यालयका खगोलशास्त्रका प्राध्यापक डा. सुबीर सरकारले बताएअनुसार, अनुसन्धानले के२-१८बी (K2-18b) मा जीवन हुनसक्ने महासागर रहेको संकेत गर्छ, तर त्यो पक्का भन्न सक्ने अवस्था छैन।
तर अहिलेको प्रमाणले खोजको मान्यता पाउने पाँच सिग्मा (९९.९९९९९ प्रतिशत) को स्तर पुगिनसकेको वैज्ञानिकहरू चेतावनी दिन्छन्। अहिलेको नतिजा तीन सिग्मा (९९.७ प्रतिशत) मात्र हो, जुन १८ महिनाअघि पाइएको एक सिग्मा (६८ प्रतिशत) भन्दा धेरै हो, तर अझै वैज्ञानिक समाजलाई विश्वस्त गराउन पर्याप्त छैन।
प्राध्यापक क्याथरिन हेइमन्सका अनुसार, पाँच सिग्मा नतिजा आएपनि, ग्यास जीवनकै कारणले बनेको हो भनेर निश्चित भन्न सकिँदैन। उनले भनिन्, “पृथ्वीमा यो समुद्री जीवहरूले उत्पादन गर्छन्, तर अन्य ग्रहमा भूगर्भीय प्रक्रियाबाट पनि त्यस्तो ग्यास बन्न सक्छ।”
प्राध्यापक मधुसूदनको टोलीले पनि यो स्वीकार गरेको छ र उनीहरू अन्य समूहहरूसँग मिलेर प्रयोगशालामा डीएमएस र डीएमडीएस जैविक नभएको अवस्थामा कसरी बन्न सक्छ भनेर परीक्षण गरिरहेका बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ।
मधुसूदनले भने, “यदि यो सत्य हो भने ठूलो दाबी हो। त्यसैले हामी अत्यन्तै सावधानी अपनाउँदै अझ धेरै अवलोकनहरू गरेर प्रमाणलाई ‘वन–इन–ए–मिलियन’ स्तरमा पुर्याउन चाहन्छौं।”
जेडब्लूएसटीको तथ्यांकको अन्य व्याख्याहरू पनि आएका छन्। केही वैज्ञानिकहरूले यो ग्रह तरल महासागरयुक्त भएको भनेका छन् भने अन्यले पग्लिएको ढुंगाको महासागर भएको हुनसक्ने तर्क गरेका छन्। नासाको डा. निकोलस वोगनले त यो सतह नभएको मिनी ग्यास जायन्ट नै भएको तर्क गरेका छन्।
बीबीसीको द स्काई एट नाइट कार्यक्रमका प्रस्तोता प्राध्यापक क्रिस लिन्टटले मधुसूदनको टोलीको कामको प्रशंसा गर्दै सावधानीपूर्वक हेर्नुपर्ने बताएका छन्। उनले भने, “हामीले अघिसम्म पनि यस्ता ‘महत्वपूर्ण क्षणहरू’ देखेका छौं, तर यो ब्रह्माण्डको अनुसन्धानको लामो प्रयासको एक भाग हो।”
प्राध्यापक मधुसूदनले भने, “वर्षौंपछि हामी यो क्षणलाई फर्केर हेर्दा भन्नेछौं-यही समय थियो जब जीवनयुक्त ब्रह्माण्ड हामीसम्म आइपुग्यो। यो त्यो मोड हुन सक्छ, जहाँ हामी एक्लै छौं कि छैनौं भन्ने प्रश्नको जवाफ दिन सक्ने स्थितिमा पुग्दैछौं।”
यो अनुसन्धान द एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएको छ।
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार