स्टारलिंकको स्याटेलाइट कन्स्टलेशनलाई चीन र रुसको खतरा

Technology Khabar ५ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

स्पेसएक्सको स्टारलिंक स्याटेलाइट प्रणाली अहिले रूस र चीनको खतरा सामना गरिरहेको छ। विशेष गरी सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि यसलाई युक्रेनमा सैन्य प्रयोगमा ल्याइएपछि यो खतरा अझ बढेको हो। यसबारे एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ, जसले गत वर्ष १२ वटा देशहरूको काउन्टरस्पेस क्षमताको मूल्यांकन गरेको छ।

सेक्योर वर्ल्ड फाउन्डेशन (एसडब्लूएफ) नामक स्वतन्त्र नीति थिंक ट्यांकले अप्रिल ३ मा सार्वजनिक गरेको ३१६ पृष्ठ लामो प्रतिवेदनले राष्ट्रहरूको बढ्दो अन्तरिक्ष निर्भरता, खासगरी राष्ट्रिय सुरक्षाका लागि, कति संवेदनशील बन्न थालेको छ भन्ने देखाएको छ। मूल्याङ्कन गरिएका देशहरूमा अमेरिका, रूस, चीन, भारत, अष्ट्रेलिया, उत्तर कोरिया र दक्षिण कोरिया लगायत छन्।

प्रतिवेदनको प्रस्तावनामा भनिएको छ, “यी मुद्दामा खुला र सार्वजनिक बहस अत्यावश्यक छ। हाम्रो समाज र अर्थतन्त्र अन्तरिक्ष क्षमतामा अत्यधिक निर्भर छ, र भविष्यमा अन्तरिक्षमा हुने कुनै पनि संघर्षको असर पृथ्वीमा दीर्घकालीन र गम्भीर हुनसक्छ।”

लाइभाइन्सका अनुसार स्टारलिंकले पृथ्वीको निचला कक्षमा रहेका हजारौं स्याटेलाइटमार्फत उच्चगतिको इन्टरनेट प्रदान गर्छ। युक्रेनी नागरिकहरूले २०२२ मा स्टारलिंक प्रयोग गर्न थालेका थिए, जब रूसी आक्रमणपछि देशको इन्टरनेट सेवा अवरुद्ध भएको थियो। यसले युक्रेनी सेना र सरकारलाई सुरक्षित सञ्चार गर्न सघाएको थियो।

तर मे २०२४ देखि युक्रेनी सेनाले स्टारलिंकमा अवरोधको सामना गर्न थालेको बताइएको छ। सेनाका अधिकारीहरूका अनुसार रूसले आफ्नो विद्युतीय युद्ध प्रणाली परीक्षण गर्दै स्टारलिंकलाई लक्षित गरिरहेको छ, जसमा उन्नत प्रविधि प्रयोग भएको देखिन्छ।

एसडब्लूएफको प्रतिवेदनमा लीक भएको अमेरिकी सैन्य दस्तावेजको हवाला दिइएको छ, जसअनुसार “टोबोल” नामक रूसी प्रणाली, जुन मूलतः रूसी स्याटेलाइटलाई जामिङबाट बचाउन बनाइएको थियो, त्यसलाई स्टारलिंक संकेतहरू अवरुद्ध गर्न प्रयोग गरिएको हो। कम्तिमा तीन टोबोल युनिटहरू पूर्वी युक्रेनमाथि स्टारलिंक संकेतहरू अवरुद्ध गर्न प्रयोग भएको दावी गरिएको छ।

रुसले अझ उन्नत प्रणाली “कालिङ्का” को विकास गरिरहेको पनि प्रतिवेदनले जनाएको छ। यो प्रणालीले स्टारलिंक स्याटेलाइटसँगको सञ्चार पत्ता लगाएर अवरुद्ध गर्न सक्ने क्षमताको विकास गरिरहेको छ।

कालिङ्का विकास गरिरहेको रूसी संस्था रसियन सेन्टर फर अनम्यान्ड सिस्टम्स् एण्ड टेक्नोलोजिजका निर्देशक आन्द्रेई बेज्रुकोभका अनुसार, यो प्रणालीले स्टारशिल्ड (स्टारलिंक को सैन्य संस्करण) जडान भएका टर्मिनलहरू पत्ता लगाउने क्षमता पनि राख्नेछ।

यसबाहेक रुसले फ्रान्स, नेदरल्याण्ड, स्विडेन र लक्जेमबर्गमा जीपीएस संकेतहरू अवरुद्ध गरेको रिपोर्टमा उल्लेख गरिएको छ। त्यस्तै, ती देशका बालबालिकाहरूका टेलिभिजन च्यानलहरूमा युक्रेन युद्धका दृश्यहरू प्रसारण गरिएको पनि रिपोर्टहरूमा दावी गरिएको छ। अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनका अनुसार, ती संकेतहरू मस्को, कालिनिनग्राड र पाभलोभकाबाट आएको हुनसक्छ।

प्रतिवेदनमा भनिएको छ, “फेब्रुअरी २०२५ सम्म स्टारलिंक सेवा साइबर आक्रमणको प्रतिरोधमा उल्लेखनीय रूपमा सफल देखिएको छ।”

यता खासगरी भविष्यमा अमेरिका विरुद्ध सशस्त्र द्वन्द्वको सम्भावना देखेर चीनले पनि यस्तै क्षमतामा लगानी गरिरहेको रिपोर्टले बताएको छ। जुलाई २०२४ मा, चिनियाँ नौसेनाको अनुसन्धानकर्ताहरूले लेजरयुक्त पनडुब्बीहरू विकास गर्ने प्रस्ताव राखेका थिए, जसले सतहमा आएर स्टारलिंक वा अन्य निगरानी स्याटेलाइटलाई लक्षित गर्न सक्नेछन्। यद्यपि, पनडुब्बीहरूमा सीमित पत्ता लगाउने क्षमता भएकाले बाह्य स्रोतबाट लक्ष्यबारे जानकारी आवश्यक पर्ने स्वीकार गरिएको छ।

यसैबीच, अमेरिकी स्पेस फोर्सले पनि नयाँ स्याटेलाइट-जामर रिमोट मोड्युलर टर्मिनल्स परीक्षण गरिरहेको छ, जसले विद्युतीय युद्ध क्षमतामा सघाउनेछ। सेक्योर वर्ल्ड फाउन्डेशनको वाशिंगटन कार्यालयकी निर्देशक भिक्टोरिया स्यामसनले ब्रेकिङ डिफेन्ससँग भनेकी छिन्, “सबैजना अहिले जामिङ गरिरहेका छन्।”

तर हालसम्म प्रयोगमा आएका काउन्टरस्पेस रणनीतिहरू सबै “गैर-विनाशकारी” छन्, अर्थात् स्याटेलाइटलाई नष्ट नगरी संकेतहरूमा हस्तक्षेप गर्ने खालका छन्।

प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया