चीनमा रोबोटयुक्त स्मार्ट सार्वजनिक शौचालय बढ्दै

Technology Khabar ४ बैशाख २०८२, बिहीबार

काठमाडौं ।

चीनको शिनजियाङ प्रान्तको राजधानी उरुम्छीमा पहिले फोहोर र दुर्गन्धित मानिने सार्वजनिक शौचालयहरू अब सफा र प्रविधियुक्त हुँदै गएका छन्। नयाँ प्रविधिको प्रयोगले यी शौचालयहरूलाई अझ सहज र प्रयोगकर्तामैत्री बनाइएको छ।

सायबाक जिल्लाको एक पर्यटकीय स्थानमा हालै सञ्चालनमा आएको नयाँ स्मार्ट शौचालयमा सफा गर्ने रोबोट प्रयोग गरिएको छ। प्रयोगकर्ताले बाहिरिएपछि रोबोट सक्रिय भएर शौचालय सफा गर्छ, साबुन र डिसइन्फेक्टेन्ट छर्छ र भुइँ सुकाउने काम पनि गर्छ। यसले सरसफाइमा सुधार ल्याउनुका साथै चिप्लिएर लड्ने जोखिम घटाएको छ।

स्थानीय बासिन्दाले यी नयाँ शौचालयहरूको प्रशंसा गरेका छन्। एक प्रयोगकर्ताले भने,“शौचालय सफा र दुर्गन्धरहित छ।”

शौचालय निर्माण र व्यवस्थापन गर्ने ‘कुओलिन’ कम्पनीका अनुसार सफा गर्ने रोबोटले ७० सेकेन्डमै काम सम्पन्न गर्छ। कम्पनीले थप प्रविधिको प्रयोग गर्दै शौचालयमा तापक्रम, प्रयोग सङ्ख्या, ग्यास सान्द्रता, पानी र विद्युत् खपतजस्ता विवरण संकलन गर्ने सेन्सरहरू पनि जडान गरेको छ। यसले शौचालयको निगरानी र व्यवस्थापन सजिलो बनाएको छ।

सहरका व्यस्त बजार र राति लाग्ने मेलामा कम्पनीले शौचालयहरू निर्माण गरेको छ, जसमा अपाङ्गता भएका व्यक्तिहरू, वृद्ध र बालबालिकालाई सहज बनाउने सुविधा जस्तै रेलिङ, र्याम्प, बेबी केयर रूम आदि राखिएको छ । केही शौचालयमा पानी कम लाग्ने विमानमा प्रयोग हुने भ्याकुम शौचालय प्रविधि पनि प्रयोग गरिएको छ।

शौचालयको बाहिरी भागमा पहेंलो र खैरो रङ्गको प्रयोग गरिएको र भित्तामा स्थानीय संस्कृति झल्काउने कला चित्रहरू पनि राखिएको छ।

चीन सरकारले सन् २०१५ देखि सुरु गरेको ‘शौचालय क्रान्ति’ अभियानपछि देशभर सार्वजनिक शौचालयको सङ्ख्या र गुणस्तरमा सुधार ल्याउन थालिएको हो । उरुम्छीमा पनि वर्षौंदेखि थला परेका शौचालयहरू सुधार गरिएको र निजी लगानी भित्र्याएर सफा गर्ने पेशागत कम्पनीहरूलाई जिम्मा दिइएको छ।

स्थानीय अधिकारीहरूका अनुसार भविष्यमा अझ धेरै शौचालयमा सफा गर्ने रोबोट प्रयोग गरिनेछ। उनीहरू भन्छन्, “शहरी पूर्वाधारले प्रविधिको विकाससँगै अगाडि बढ्नुपर्छ, जसले सेवा अझ सहज बनाउँछ र व्यवस्थापन पनि प्रभावकारी हुन्छ।”-रासस/सिन्ह्वा

प्रकाशित: ४ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया