Technology Khabar ३ बैशाख २०८२, बुधबार
काठमाडौं ।
नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू संघ (नाइमा) आज औपचारिक रूपमा स्थापना भएको घोषणा गरिएको छ। “मोबिलिटी मार्फत समृद्धिको प्रवर्द्धन” भन्ने सन्देशसहित यो संघ स्थापना भएको हो।
नाइमाकी प्रथम अध्यक्ष ऋतु सिंह वैद्यले संघको दृष्टिकोण, उद्देश्य, र पाँच आधारशीला स्तम्भहरूको बारेमा जानकारी दिएकी थिईन्।
वैद्यले भनिन, ‘नेपाल अटोमोबाइल आयातकर्ताहरू तथा उत्पादकहरू संघ (नाइमा) एउटा साझा मञ्च हो, जसले प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास, र नेपालको मोबिलिटी क्षेत्रको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राख्दछ।’
नाइमाको मुख्य उद्देश्य रणनीतिक पैरवी, नवप्रवर्तनमा समर्थन, र सहकार्यका माध्यमबाट समृद्धिको गति अगाडि बढाउनु हो। सरकारले, निजी क्षेत्रले, र नागरिक समाजसँग मिलेर सबैका लागि मोबिलिटी सुनिश्चित गर्ने वातावरण बनाउन संघ प्रतिबद्ध रहेको बताईयो।
वैद्यले थप भनिन्, ‘नेपालको अटोमोटिभ क्षेत्रलाई सकारात्मक नीतिहरूको पैरवी, दिगो नवप्रवर्तनको प्रवर्द्धन, जनचेतना र शिक्षामार्फत उपभोक्ताको सशक्तीकरण, सडक सुरक्षाको प्रवर्द्धन, पूर्वाधार विकास, दक्ष जनशक्ति निर्माण, र सहकार्यको वातावरण विस्तार गर्दै नाइमालाई उद्योगको साझा आवाज र विश्वसनीय नेतृत्वको रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो।”
संघका पाँच आधारशिला स्तम्भहरू चयन गरेको जानकारी दिईयो जसमा सबैका लागि मोबिलिटी समाधान, सुरक्षा र पूर्वाधार सुधार, नीति तथा नियामक पैरवी, जनशक्ति र उद्योगको उत्कृष्ट अभ्यास तथा उपभोक्ता सशक्तीकरण र साझा मोबिलिटी रहेको छ।
नाइमा नेपालको पहिलो गैर-राजनीतिक संघ भएको र यसको नेतृत्व स्वेच्छिक सहभागिता र सर्वसम्मतिको आधारमा जानकारी दिईएको थियो। यहाँ कहिल्यै निर्वाचन नगर्ने र निर्णय सर्वसम्मतिमा लिने प्रतिबद्धता गरिएको छ।
संस्थामा सुहृद राज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीपकुमार शारडा, निराकार श्रेष्ठ, यमुनाश्री श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काब्रा संस्थापक बोर्ड सदस्य छन्।
यसका साथै नाइमाले ‘नेपाल मोबिलिटी एक्सपो’ आयोजना गर्ने घोषणा गरेको छ। उक्त एक्पो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने जनाएको छ।
प्रकाशित: ३ बैशाख २०८२, बुधबार