Technology Khabar ४ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
गुगलले सन् २०२४ मा आफ्ना प्लेटफर्ममा विज्ञापन ठगी नियन्त्रणको प्रयास अन्तर्गत ३९.२ मिलियन विज्ञापनदाता खाता निलम्बन गरेको बताएको छ जुन अघिल्लो वर्षको तुलनामा तीन गुणाभन्दा बढी हो।
ठूला भाषा मोडेल (एलएलएम) र व्यवसायको नक्कल तथा अवैध भुक्तानी विवरणजस्ता संकेतहरूको प्रयोग गर्दै, सर्च कम्पनीले अधिकांश विज्ञापन खाता विज्ञापन देखिनुअघि नै निलम्बन गर्न सकेको जनाएको छ।
गत वर्ष, गुगलले आफ्ना सबै प्लेटफर्महरूमा सुरक्षासम्बन्धी कार्यान्वयनलाई बलियो बनाउन ५० भन्दा बढी एलएलएम सुधारहरू सुरु गरेको थियो।
“यी एआई मोडेलहरू हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छन् र तिनीहरूले उल्लेखनीय सुधारहरू ल्याएका छन्, तर प्रक्रिया भरि मानिसहरूको संलग्नता अझै पनि छ,” गुगलको एड्स सेफ्टी विभागका महाप्रबन्धक एलेक्स रोड्रिगेजले भर्चुअल मिडिया राउन्डटेबलमा भने।
उनले पत्रकारहरूलाई बताएअनुसार गुगलका १०० भन्दा बढी विज्ञ विशेषज्ञहरूको टोली बनाइएको थियो, जसमा एड्स सेफ्टी टीम, ट्रस्ट एण्ड सेफ्टी विभाग तथा डीपमाइन्डका अनुसन्धानकर्ता पनि समावेश थिए।
यस टोलीले सार्वजनिक व्यक्तित्वहरूको नक्कल गरी बनाइएका डीपफेक विज्ञापन ठगीहरूको अध्ययन गरेर त्यसविरुद्ध रणनीति बनाएको टेकक्रञ्चले उल्लेख गरेको छ।
कम्पनीले गत वर्ष प्रविधियुक्त सुरक्षा उपायहरू र ३० भन्दा बढी विज्ञापन तथा प्रकाशक नीतिमा परिमार्जन गरेको बताएको छ। यसबाट ७ लाखभन्दा बढी गलत विज्ञापन खाता निलम्बन गर्न सकिएको र डीपफेक विज्ञापनसम्बन्धी उजुरीहरूमा ९० प्रतिशत कमी आएको कम्पनीको दावी छ।
केवल अमेरिका भित्रै, गुगलले २०२४ मा ३९.२ मिलियन विज्ञापनदाता खाता निलम्बन गरेको र १.८ अर्ब विज्ञापन हटाएको जनाएको छ। प्रमुख उल्लंघनहरूमा विज्ञापन सञ्जालको दुरुपयोग, ट्रेडमार्कको गलत प्रयोग, स्वास्थ्यसम्बन्धी दावी, निजीकृत विज्ञापन तथा तथ्यको गलत प्रस्तुतिकरण रहेका छन्।
गुगलका अनुसार, चीनपछिको सबैभन्दा ठूलो इन्टरनेट प्रयोगकर्ता भएको भारतमा २.९ मिलियन विज्ञापन खाता निलम्बन गरिएको छ। भारतमा २४७.४ मिलियन विज्ञापन हटाइएको बताइएको छ। मुख्य पाँच नीति उल्लंघनहरूमा वित्तीय सेवा, ट्रेडमार्कको दुरुपयोग, विज्ञापन सञ्जालको दुरुपयोग, निजीकृत विज्ञापन तथा जुवा र खेल समावेश छन्।
गुगलले कुल ५ मिलियन विज्ञापनदाता खाता ठगीसम्बन्धी उल्लंघनका लागि निलम्बन गरेको बताएको छ। कम्पनीले ठगीसँग सम्बन्धित झण्डै आधा अर्ब विज्ञापन हटाएको जनाएको छ।
गुगलले २०२४ मा विश्वका आधा जनसंख्या मतदानमा सहभागी भएको समयमा ८,९०० भन्दा बढी नयाँ निर्वाचनसम्बन्धी विज्ञापनदातालाई प्रमाणीकरण गरेको र १०.७ मिलियन निर्वाचन विज्ञापन हटाएको जनाएको छ। तर रोड्रिगेजका अनुसार निर्वाचनसम्बन्धी विज्ञापनहरूको संख्या गुगलका सम्पूर्ण विज्ञापनहरूसँग तुलना गर्दा थोरै मात्र थियो र त्यसले सुरक्षा सूचकमा ठूलो असर पार्दैन।
कुल रूपमा, गुगलले २०२४ मा ५.१ अर्ब विज्ञापन रोकिएको र १.३ अर्ब पेज हटाएको जनाएको छ। तुलना गर्दा, २०२३ मा उसले ५.५ अर्ब विज्ञापन रोकिएको र २.१ अर्ब प्रकाशक पेजहरूमा कारबाही गरेको थियो।
प्रकाशित: ४ बैशाख २०८२, बिहीबार