Technology Khabar ३ बैशाख २०८२, बुधबार
काठमाडौं ।
दोलखाको वैतेश्वर गाउँपालिकाले आफ्नो सिमाना क्षेत्रमा सिसी क्यामरा जडान गरेको छ। गाउँपालिकाको सीमा क्षेत्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गरेर सिसी क्यामरा जडान कार्य गरेको गाउँपालिकाका सूचना अधिकारी रोशनकुमार गिरीले जानकारी दिए।
गाउँपालिकाले आफ्नो सिमाना जोडिएको जिरो र वैतेश्वरको खात्रामा अत्याधुनिक प्रविधिको पिटिजेट सिसी क्यामरा राखेको हो। सवारीसाधन र मानिस ओहोरदोहोर हुने तामाकोशी बजारको वैतेश्वर क्षेत्रमा क्यामरा जोडिएको छ। तामाकोशी बजार जिल्लाको भीमेश्वर नगरपालिका, तामाकोशी, मेलुङ र बैतेश्वर गाउँपालिकाको सङ्गमस्थलमा पनि सिसी क्यामरामार्फत निगरानी गर्ने भएको छ।
त्यसैगरी वैतेश्वर र तामाकोशी गाउँपालिकाको सीमानाका गोपीखोलामा सिसी क्यामराको निगरानी राखिएको छ। बजार तथा सीमा क्षेत्रमा हुने चोरी, डकैती तथा अन्य आपराधिक घटना रोकथाम तथा अनुसन्धानमा सहज बनाउन सिसी क्यामराबाट निगरानी बढाइएको गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए।
गाउँपालिका प्रशासन तथा स्थानीय सुरक्षा निकाय, इलाका प्रहरी कार्यालय मैनापोखरी, अस्थायी प्रहरी चौकी पुतलोकाठ अन्तर्गत निगरानी हुने गरी सिमाना क्षेत्रमा सिसी क्यामरा जडान गरिएको अध्यक्ष लामाले जानकारी दिए।
वैतेश्वरले यसअधि पनि पालिकाभित्रका मुख्य बजार क्षेत्रमा सिसी क्यामरामार्फत बजारको निगरानी गर्दै आएको छ। गत वर्ष मुख्य बजार मैनापोखरी, नाम्दु पुतलीकाठ, निर्गे लहरेमाने, वडा नम्बर १ को बुद्ध चोकलगायतका स्थान तथा सम्पूर्ण वडा कार्यालयमा सिसी क्यामरा सञ्चालन गरिसकेको गाउँपालिकाले जनाएको छ।
बजार तथा सिमानामा हुने गतिविधि अब गाउँपालिका आफ्नो कार्यालयबाटै हेर्ने मिल्ने भएको छ। पालिकाले सार्वजनिक स्थल तथा बजार क्षेत्रलाई रातमा पनि उज्यालो राख्न विभिन्न ठाउँमा सडक सोलार बत्तीको समेत व्यवस्थापन गरेको वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: ३ बैशाख २०८२, बुधबार