Technology Khabar २ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
हाम्रो छेउको आकाशगंगा च्यातिने क्रममा रहेको तथ्यको एउटा अध्ययनले खुलासा गरेको छ।
स्मल म्यागेलानिक क्लाउड (वा एसएमसी) हाम्रो छेउमा रहेको अपेक्षाकृत सानो आकाशगंगा हो जुन छिमेकी आकाशगंगाको गुरुत्वाकर्षण तान (ग्य्राभिटेस्नल पुल)ले गर्दा च्यातिएर टुक्राटुक्रा हुँदै गएको देखिन्छ भनि नयाँ अनुसन्धानले बताएको छ।
‘जब हामीले पहिलो पटक यो नतिजा पायौं, त्यहाँ हाम्रो विश्लेषण विधिमा कुनै त्रुटि भएको हुन सक्छ भन्ने शंका लागेको थियो’ जापानको नागोया विश्वविद्यालयका केन्गो तचिहाराले भने। “तर, नजिकबाट जाँच गर्दा, नतिजा सहि नै भएको र त्यसले हामीलाई छक्क परेको छ” भन्दै उनले उल्लेख गरे।
एसएमसी हाम्रो नजिकको छिमेकीहरू मध्ये एक हो, जसले अनुसन्धानकर्ताहरूलाई आकाशगंगा बनाउने लगभग ७,००० विशाल ताराहरूमा नजिकबाट नजर राख्न अनुमति दिन्छ। ती ताराहरू हाम्रो सूर्यको द्रव्यमानभन्दा आठ गुणा बढी ठूलो छन्, र सुपरनोभामा विस्फोट हुनुभन्दा पहिले सामान्यतया केही मिलियन वर्षसम्म मात्र रहने गर्दछन्।
ती ताराहरूलाई हेर्दै गर्दा, अनुसन्धानकर्ताहरूले तिनीहरू आफ्नै छिमेकी आकाशगंगा ‘लार्ज म्यागेलानिक क्लाउड’ (वा एलएमसी) द्वारा तानिएको जस्तो देखिएको भन्ने कुरा याद गरेको बताइएको छ।
“एसएमसीमा ताराहरू आकाशगंगाको दुबै छेउमा विपरीत दिशामा सरिरहेका थिए, मानौं तिनीहरू अलग भइरहेको वा तानिइरहेका छन्” तचिहाराले भने। “यी ताराहरूमध्ये केही एलएमसी नजिक आइरहेका छन्, भने अरूहरू यसबाट टाढा सरिरहेका छन्, जसले ठूलो आकाशगंगाको गुरुत्वाकर्षण प्रभावलाई संकेत गर्दछ” उनले उल्लेख गरे।
“यो अप्रत्याशित चालले एलएमसीले एसएमसीलाई अवरोध गरिरहेको र जसले गर्दा यसको क्रमिक विनाश भइरहेको छ” भन्ने परिकल्पनालाई समर्थन गर्दछ” उनले उल्लेख गरे।
अनुसन्धानकर्ताहरूले एसएमसी घुमिरहेको देखिँदैन भन्ने कुरा पनि याद गरेको बताइएको छ। सामान्यतया, ग्यासबाट जन्मिएका युवा विशाल ताराहरू त्यससँगै घुम्छन्, तर एसएमसीका ताराहरू त्यसरी घुमिरहेको देखिँदैन, जसले गर्दा ग्यास आफैं पनि अपेक्षा गरेअनुसार घुमिरहेको छैन भन्ने सुझाव दिन्छ भनि थप उल्लेख गरिएको छ।
यसले एसएमसीको बारेमा मात्र नभई हाम्रो आफ्नै सहित, आकाशगंगाहरूसँग यसले कसरी अन्तरक्रिया गर्छ भन्ने कुराको पनि नयाँ बुझाइ ल्याउन सक्छ भन्ने तथ्यको उल्लेख गरिएको छ।
यसका साथै यसले हामीलाई प्रारम्भिक ब्रह्माण्डको अवस्था र कथालाई राम्रोसँग बुझ्न मद्दत गर्न सक्ने बताइएको छ। एसएमसीले प्रारम्भिक आकाशगंगाहरूसँग केही विशेषताहरू साझा गर्ने भएकोले एसएमसीले हामीलाई ब्रह्माण्ड आजको भन्दा सानो हुँदाको अवस्थाको बारेमा बुझ्नको लागि मद्दत गर्ने वा उपयोगी हुने बताइएको छ।
“हामी बसेको आकाशगंगाको ‘बर्ड आई भ्यू’ प्राप्त गर्न हामी असमर्थ छौं” तचिहाराले भने। “नतिजा स्वरूप, एसएमसी र एलएमसी मात्र आकाशगंगाहरू हुन् जसमा हामी स्टेलर मासन (तारकीय गति) को विवरण अवलोकन गर्न सक्छौं। यो अनुसन्धान महत्त्वपूर्ण छ किनभने यसले हामीलाई आकाशगंगाभरि ताराहरूको गतिसँग सम्बन्धित तारा निर्माणको प्रक्रिया अध्ययन गर्न अनुमति दिन्छ” तचिहाराले भने।
यस कार्यको बारेमा ‘इभिडेन्स अफ ग्यालेक्टिक इण्टरएक्सन इन द स्मल म्यागेलानिक क्लाउड प्रोब्ड बाइ गैया–सेलेक्टेड म्यासिभ स्टार क्याण्डिडेट्स’ नामक नयाँ पत्रमा वर्णन गरिएको र द एस्ट्रोफिजिकल जर्नल सप्लिमेन्ट सिरिजमा प्रकाशित गरिएको इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।
प्रकाशित: २ बैशाख २०८२, मंगलवार