Technology Khabar १ बैशाख २०८२, सोमबार
काठमाडौं ।
एप्पलले आफ्नो नयाँ आईओएस १८.५ बीटा अपडेट विकासकर्ताहरूका लागि उपलब्ध गराइसकेको छ भने यसको सार्वजनिक संस्करण मे महिनाको सुरुवाततिर आउने अनुमान गरिएको छ।
तर त्यसअघि कम्पनीले सानो अपडेटको रूपमा आईओएस १८.४.१ संस्करण ल्याउने तयारी गरिरहेको छ।
न्युज१८ का अनुसार यसै साता आएका रिपोर्टहरू अनुसार एप्पलले आफ्ना कर्मचारीहरूसँग १८.४.१ संस्करणको परीक्षण गरिरहेको छ जसले यो अपडेट केही साताभित्र सार्वजनिक रूपमा उपलब्ध हुने सम्भावना रहेको इंगित गर्छ।
एप्पलले सन् २०२५ मा अपडेटहरू छिटो-छिटो जारी गरिरहेको भए पनि ठूला एआई फिचरहरू भने अब २०२६ सम्म ढिलो हुने संकेत देखिएको छ। तर पनि आईफोन प्रयोगकर्ताहरू आईओएस १८.४.१ अपडेटबाट के आउँछ भन्नेमा उत्साहित छन्।
के के अपेक्षा गर्ने?
आईओएस १८.४.१ अपडेटमा नयाँ फिचरहरू नआउने सम्भावना छ। पहिलेका मध्यमहिना अपडेटहरूजस्तै, यस संस्करणले पनि आईओएस १८.४ अपडेटसँगै आएका सफ्टवेयर बगहरू सुधार गर्ने र आईफोनमा देखिएका सुरक्षा कमजोरीहरू समाधान गर्ने अपेक्षा गरिएको छ।
आईओएस १८.४.१ अपडेटपछि आउने आईओएस १८.५ संस्करण भने आईओएस १८ सिरिजको अन्तिम अपडेट हुनेछ। आईओएस १८.५ बीटा संस्करणमा केही नयाँ फिचरहरू पनि देखिएको छ।
बीटा अपडेटको विवरण अनुसार, नयाँ आईओएस १८.५ अपडेटले प्रयोगकर्ताहरूलाई एप्पल मेल एपको लुक कस्टमाइज गर्न मद्दत गर्नेछ, जसअनुसार सेटिङ्समा गएर सम्पर्कहरूको प्रोफाइल फोटो लुकाउन सकिनेछ। त्यसका साथै एप्पलकेयर र वारेन्टी सेक्सनमा पनि थोरै नयाँ डिजाइनसहित सफा ब्यानर देखिनेछ।
आईओएस १९ को घोषणा भने जुन महिनामा हुने डब्लूडब्लूडीसी २०२५ कार्यक्रममा गरिनेछ। त्यहींबाट सार्वजनिक संस्करणको काउन्टडाउन सुरु हुनेछ र यससँगै आईफोन १७ सिरिज पनि वर्षको अन्त्यतिर सार्वजनिक हुने अपेक्षा गरिएको न्युज१८ ले उल्लेख गरेको छ।
प्रकाशित: १ बैशाख २०८२, सोमबार