नियमविपरीतका सामग्री नहटाएका कारण रुसमा टेलिग्राममाथि ७० लाख रूबलको जरिबाना

Technology Khabar २७ चैत्र २०८१, बुधबार

काठमाडौं ।

मस्कोस्थित एक अदालतले टेलिग्रामलाई रूसी सरकार उल्ट्याउन लक्षित विरोध प्रदर्शनमा सहभागी हुन र आतङ्कवादी आक्रमणको आह्वान गर्ने सामग्री नहटाएको आरोपमा ७० लाख रूबल (८० हजार डलर) जरिवाना तोकेको छ। यो जानकारी  समाचार संस्था टासले मंगलबार दिएको हो।

“टेलिग्राम मेसेञ्जर इंक, सूचना स्रोतको स्वामित्व लिने संस्थाले उग्रवादी गतिविधिको आह्वान समेटिएका सूचना वा च्यानलहरू हटाउन असफल भयो,” टासले अदालतको कागजात उद्धृत गर्दै जनाएको छ।

अदालतका कागजातहरूमा सूचीकृत केही च्यानलहरूले रूसी सरकार उल्ट्याउने उद्देश्यका साथ विरोध प्रदर्शनमा सहभागी हुन र युक्रेनी सेनालाई सहयोग पुर्‍याउने लक्ष्यसहित रेल यातायातमा आतङ्कवादी आक्रमण गर्ने आह्वान गरेका टासले थप जनाएको छ।

सामाजिक सञ्जाल र सन्देश आदानप्रदान गर्ने प्लेटफर्म टेलिग्रामले कार्यालय समयबाहिर राय माग्दा रोयटर्सलाई तत्काल प्रतिक्रिया नदिएको उल्लेख गरिएको छ।

रूसी मूलका पावल डुरोभद्वारा स्थापना गरिएको र हाल दुबईमा आधारित उक्त प्लेटफर्ममा झण्डै १ अर्ब प्रयोगकर्ता छन्, र यो रूस, युक्रेन तथा अन्य पूर्व सोभियत गणतन्त्रहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ।

डुरोभले २०२४ को अगस्टमा टेलिग्राममार्फत ठगी, रकम शुद्धिकरण तथा बाल यौन दुर्व्यवहारसम्बन्धी तस्बिरहरू साझा गर्ने अपराधमा संलग्न भएको आरोपमा पक्राउ र अनुसन्धानपछि केही महिना फ्रान्समा बिताएर मार्चमा फेरि दुबई फर्किएका थिए।

प्रकाशित: २७ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया