Technology Khabar २७ चैत्र २०८१, बुधबार
काठमाडौं ।
यस वर्षको सुरुवातमा प्रक्षेपण गरिएका तीनवटा गोप्य रूसी उपग्रहहरूले कक्षमा एउटा रहस्यमय वस्तु छोडेका छन्, जसले अन्तरिक्ष ट्र्याक गर्नेहरू र विश्लेषकहरूको ध्यान तानेको छ।
कोस्मोस २५८१, २५८२ र २५८३ नाम दिइएका ती तीन उपग्रहहरू फेब्रुअरी २ तारिख बिहान ज (जीएमटी) सोयुज-२.१भी रकेटमार्फत प्लेसेत्स्क कोस्मोड्रोमबाट प्रक्षेपण गरिएका थिए। ती उपग्रहहरू पृथ्वीबाट करिब ५८५ किलोमिटर माथिको नियर-पोलार कक्षमा रहँदै आएका छन्, र तिनको उद्देश्य अझै स्पष्ट भएको छैन।
लाइभसाइन्सका अनुसार मार्च महिनामा ती उपग्रहहरूले अन्य वस्तुहरू नजिकै गई सञ्चालन गरिरहेको देखिएको थियो, जसलाई ‘प्रोक्सिमिटी अपरेसन’ भनिन्छ। खगोलशास्त्री र अन्तरिक्ष गतिविधि ट्र्याकर जोनाथन म्याकड्वेलका अनुसार, ती उपग्रहहरू अन्तरिक्षमा अन्य वस्तुहरू नजिक सरेर परीक्षण गरिरहेका देखिएका हुन्।
त्यसपछि, अमेरिकी अन्तरिक्ष फोर्सले मार्च १८ मा कोस्मोस २५८१ बाट सम्भवतः छोडिएको एउटा नयाँ वस्तुलाई कक्षमा सूचीबद्ध गरेको थियो।
रूसले ती उपग्रहहरू र तिनको मिशनबारे कुनै जानकारी सार्वजनिक गरेको छैन। धेरैजसो कोस्मोस मिशनहरू गोप्य राखिन्छन्।
छोडिएको वस्तु विभिन्न उद्देश्यका लागि प्रयोग भएको हुन सक्छ — जस्तै, सैन्य परीक्षण, अन्य उपग्रहहरूको निरीक्षण, लक्ष्य अभ्यास, डकिङ वा समूहगत उडान प्रविधिको परीक्षण। यो वैज्ञानिक पेलोड पनि हुन सक्छ, वा अनपेक्षित रुपमा उपग्रह टुक्रिएको कारण हुन सक्छ, यद्यपि त्यस्तो अवस्थामा प्रायः धेरैवटा टुक्रा देखिने गर्दछन्।
कोस्मोस (वा कोस्मस) नाम सन् १९६२ यता सोभियत संघ र पछि रूसद्वारा प्रयोग हुँदै आएको छ, जसअन्तर्गत सैन्य र वैज्ञानिक दुबै प्रकारका उपग्रहहरू राखिएका छन्। ती उपग्रहहरूले प्रारम्भिक एन्टी-स्याटेलाइट परीक्षण, उपग्रह निरीक्षण, गुप्तचर, र इलेक्ट्रोनिक इन्टेलिजेन्स जस्ता विभिन्न उद्देश्य पूरा गरेका छन्।
कक्षमा समूहमा उडिरहेका तीनवटा उपग्रहहरू असामान्य होइनन्। अमेरिका (जस्तै, नेभल ओसियन सर्भेइलान्स सिस्टम) र चीन (याओगन) ले पनि यस्तो प्रकृतिका धेरै समूह प्रक्षेपण गरेका छन्, जसलाई सामान्यतया इलेक्ट्रोनिक इन्टेलिजेन्सका लागि प्रयोग गरिएको मानिन्छ।
तर, कोस्मोस २५८१, २५८२, २५८३ र तिनीहरूको नयाँ साथीसँग अब अन्तरिक्षमा के हुन्छ भन्ने हेर्न बाँकी नै छ।
प्रकाशित: २७ चैत्र २०८१, बुधबार