लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई जग्गा प्रदान गरिने

Technology Khabar २६ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको निर्माणस्थल बाँकेको खजुरा गाउँपालिका-८, रनियापुरमा सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलगायत अनुगमनका क्रममा स्थलगत निरीक्षण तथा अनुगमनपछि मन्त्री अधिकारीले अबको मन्त्रीपरिषद् बैठकले जग्गा लिजमा दिने निर्णय हुन सक्ने जानकारी दिए।

मन्त्री अधिकारीले भने, “लिज कार्यनीति समयमै नबन्दा जग्गा उपलब्ध गराउने कार्यमा ढिलाइ भएको हो, अब लगत्तैको मन्त्रीपरिषद् बैठकमा कार्यनीति पेस गर्ने तयारी छ।” समितिबाट फिली ल्याएर कार्यनीति बैठकमा पेस गर्न बाँकी रहेको उनको भनाई छ। मन्त्री अधिकारीले शिक्षा मन्त्रालको निर्णय अनुसार विश्वविद्यालयलाई ५० बिघा जग्गा लिजमा दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए। बाँकी रहेको जग्गाको संरक्षणका लागि क्रमशः अघि बढ्ने उनको भनाइ छ।

सङ्घीय सरकारबाट जग्गा प्राप्तिका लागि ढिलाई हुँदा करिब तीन वर्षदेखि विनियोजित रकम खर्च हुन नसकी फिर्ता भइरहेको छ। सो अवसरमा विश्व विद्यालयका उपकुलपति प्राडा विनोद ढकाल, कुल सचिव रेगबहादुर भण्डारी, खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कक्षपति, भूमिसम्बन्धी समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, नेकपा (एमाले) का नेता भीम बली देवीलाल खनाल अतिउल्ला खाँ, नेपाली कांग्रेसका नेता रमेश सिंजालीलगायतले तत्काल विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउन माग गरे।

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले विश्वविद्यालय निर्माणको प्रस्ताव राम्रो भएको भन्दै मन्त्रालयको टोली फिल्डमा पुगेर प्रत्यक्ष अनुगमन गरेकोले तत्कालै आवश्यक निर्णयमा पुगिने बताए। विश्वविद्यालयमा हाल करिब दुई सय विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन्।

यहाँ बिटेक इनइन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, बिटेक इन आइटी र बिटेक इन एआई विषयको अध्ययन अध्यापन भइरहेको छ। हाल विश्वविद्यालय नेपालगन्जस्थित डिभिजन वन कार्यालय परिसर तथा कृषि विकास बैकको भवन भाडामा लिएर सञ्चालन भइरहेको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: २६ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया