
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सेवा र विद्युतीय व्यापारको क्षेत्रको प्रवर्द्धन गर्नमा जुटेको छ। प्रविधिको विकाससँगै विद्युतीय व्यापार (ई–कमर्स) नेपालमा दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा सरकार विद्युतीय व्यापार नियमन तथा प्रवर्द्धनमा जुटेको हो।
विद्युतीय व्यापारलाई नियमन तथा प्रवर्द्धन गर्न विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ जारी भइसकेपछि कार्यान्वयनका सन्दर्भमा मन्त्रालयले आवश्यक पहल थालेको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए।
उहाँका अनुसार विश्व व्यापार सङ्गठनको सहकार्यमा मन्त्रालयले आइतबार सेवा तथा विद्युतीय व्यापार (ई–कमर्स) सम्बन्धी तीनदिने कार्यशालासमेत सम्पन्न गरेको छ। यस्तै उनका अनुसार केही समयअघि मात्र ऐन पारित भएकाले कार्यान्वयनका लागि साझेदार निकायहरुसँग छलफल तथा सुझाव सङ्कलनको काम भइरहेको छ।
कार्यशालामा विश्व व्यापार सङ्गठनको सचिवालयबाट आएका विज्ञ स्रोतव्यक्तिले सेवा व्यापार र विद्युतीय व्यापारको सैद्धान्तिक अवधारणा, पछिल्लो विकास क्रम, विश्व व्यापार सङ्गठनमा भइरहेको वार्ता तथा प्रगतिसमेतका विषय समेटी अभिमुखीकरण प्रदान गरेको बस्नेतले बताए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीका स्वकीय सचिव आनन्द भट्टले मन्त्रालयले पर्यटन, सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवा, जलविद्युत्, निर्माण सेवा, दक्ष तथा अर्धदक्ष श्रम सेवालाई निर्यात सम्भावना भएका सेवाका रूपमा प्राथमिकता दिएको बताए।
भट्टका अनुसार विद्युतीय व्यापारलाई नियमन तथा प्रवर्द्धन गर्न विद्युतीय व्यापार (ई–कमर्स) सम्बन्धी ऐनको मस्यौदा लामो समयदेखि मन्त्रालयमा अड्किएर रहेको अवस्थामा मन्त्री भण्डारीले महत्वपूर्ण कार्यसूचीमा राखेर अघि बढाइएको थियो।
उनले पछिल्लो समय ‘अनलाइन’ व्यापार फस्टाउँदै गएको सन्दर्भमा व्यावसायिक शुद्धताका लागि ऐन महत्वपूर्ण हुने बताए। उनले ऐन कार्यान्वयनपछि उपभोक्ता ठगी, उपभोक्ता अधिकार संरक्षण, उपभोक्ताले गुणस्तरीय वस्तु प्राप्त गर्नाका साथै अवैध कारोबार नियन्त्रण र राजस्वमा वृद्धि हुने बताए।
नेपालको अर्थतन्त्रमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको सेवा क्षेत्रको विकास, विस्तार र सेवा व्यापारको प्रवद्र्धन समग्र आर्थिक एवं सामाजिक विकासका लागि महत्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्वव्यापी रूपमा सेवा व्यापारको हिस्सा बढिरहेको सन्दर्भमा नेपालको वैदेशिक व्यापारमा समेत सेवा व्यापारको अंश प्रत्येक वर्ष बढ्दै गइरहेको छ।-रासस
प्रकाशित: २५ चैत्र २०८१, सोमबार