एफएएले टुङ्ग्यायो स्टारशिप यानको सातौं उडानसम्बन्धी अनुसन्धान

Technology Khabar २० चैत्र २०८१, बुधबार

काठमाडौं ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले स्पेसएक्स को विशाल स्टारशिप यानको सातौं उडानसम्बन्धी अनुसन्धान बन्द गरेको छ। यो उडान एटलान्टिक महासागरमाथि विस्फोट भएर समाप्त भएको थियो।

सातौं उडानले जनवरी १६ मा स्पेसएक्सको दक्षिण टेक्सासस्थित स्टारबेस साइटबाट स्टारशिप प्रक्षेपण गरेको थियो। सुरुवातमा सबै प्रक्रिया योजनाबद्ध रूपमा अगाडि बढ्यो। पहिलो चरणको बूस्टर सुपर हेभी प्रक्षेपणपछि करिब सात मिनेटमै स्टारबेसमा सुरक्षित अवतरण गर्‍यो।

तर ५२ मिटर अग्लो दोस्रो चरणको स्टारशिप माथि आकाशमा केही मिनेटपछि विस्फोट भयो, जसको टुक्रा टर्क्स एण्ढ काइकस टापुहरूमा खस्यो।

स्पेसएक्सले गडबडीका कारण इन्धन चुहावट भएको निष्कर्ष निकालेको थियो, जुन उडानको क्रममा अपेक्षाभन्दा उच्च “हर्मोनिक प्रतिक्रियाका कारण भएको थियो। एफएएले स्पेसएक्सको अनुसन्धानको निरीक्षण गर्दै निष्कर्षहरू स्वीकार गरेको स्पेस डटकमले उल्लेख गरेको छ।

“स्टारशिप यानको क्षतिको सम्भावित मुख्य कारण उडानको क्रममा अनुमानभन्दा तीव्र कम्पन हुनु थियो, जसले प्रोपल्सन सिस्टमको हार्डवेयरमा बढी दबाब पारेर असफल बनायो,” एफएएले मार्च ३१ मा जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

“स्पेसएक्सले यस्ता घटनालाई रोक्न ११ सुधारात्मक कदम चालेको छ,” एफएएले थप जनाएको छ। “आठौं उडान अगाडि बढाउनुअघि एफएएले यी सुधारात्मक कार्यान्वयन भएको प्रमाणित गरेको छ।”

स्टारशिप फ्लाइट ८ अर्थात् आठौं उडान मार्च ६ मा उडाइएको थियो, जसको प्रक्रिया सातौं उडान जस्तै थियो। सुपर हेभी बूस्टरलाई स्टारबेसको प्रक्षेपण टावरले “चपस्टिक” हातहरू प्रयोग गरेर समात्यो, तर दोस्रो चरणको स्टारशिप फेरि अटलान्टिक महासागरमाथि नष्ट भयो। यस सम्बन्धी स्पेसएक्सको अनुसन्धान अझै खुला रहेको बताइएको छ।

एफएएले जनवरी १६ मा प्रक्षेपण गरिएको ब्लू ओरिजिनको नयाँ शक्तिशाली रकेट न्यू ग्लेनको पहिलो उडानका क्रममा भएको समस्या सम्बन्धी अनुसन्धान पनि बन्द गरेको छ।

न्यू ग्लेन उडानले आफ्नो मुख्य लक्ष्य सफलतापूर्वक पूरा गर्दै कक्षमा प्रवेश गर्‍यो, तर पहिलो चरणको बूस्टर समुद्रमा रहेको जहाजमा अवतरण गर्न असफल भयो।

” एफएएले ब्लू ओरिजिनको अनुसन्धानको निरीक्षण गर्दै निष्कर्षहरू स्वीकार गरेको छ,” एफएएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। “अनुसन्धान अनुसार न्यू ग्लेनको पहिलो चरणको इन्जिन पुनःसञ्चालन हुन नसक्दा पुनःप्रवेश जलन गर्न असफल भयो र बूस्टर गुमाउनु पर्‍यो।”

एफएएका अनुसार स्टारशिप फ्लाइट ७ र न्यू ग्लेनसम्बन्धी अनुसन्धान रिपोर्टहरू मार्च २८ मा बन्द गरिएको थियो। दुवै घटनामा कुनै सार्वजनिक चोटपटकको रिपोर्ट आएको छैन। तर, स्टारशिप फ्लाइट ७ का टुक्राले टर्क्स एण्ड काइकसमा सानो सवारीसाधनमा क्षति पुर्‍याएको पुष्टि गरिएको छ।

प्रकाशित: २० चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया