फागुन महिनाको टप टेन आइएसपीमा कुन कुन परे? ग्राहक सङ्ख्या कसको कति?

Technology Khabar १७ चैत्र २०८१, आईतवार

फागुन महिनाको टप टेन आइएसपीमा कुन कुन परे? ग्राहक सङ्ख्या कसको कति?
अप्टिकल फाइबर। सांकेतिक तस्बिर। फ्रिपिक डटकममार्फत।

काठमाडौं ।

नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै गइरहेको छ। व्यक्तिगत मनोरञ्जन वा कार्यालयको काम र अध्ययन अध्यापनमा समेत अपरिहार्य भएकाले इन्टरनेटको प्रयोग बढेको हो।

प्रयोगकर्ताको सङ्ख्या बढेसँगै तार (फाइबर)बाट इन्टरनेट जडान गर्नेको संख्या पनि बढ्दो छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ आठौं महिना अर्थात् फागुनसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान संख्या ३० लाख ८२ हजार ७२६ पुगेको देखिन्छ।

नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। माघ मसान्तसम्म वर्ल्डलिंकका ग्राहक ९ लाख ८६ हजार ७९ छन्।

यी हुन् नेपालका टप १० आईएसपी:-

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८१ फागुन मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ९ लाख ८६ हजार ७९ छ। जसमध्ये वायरलेस कनेक्सन ३१४, केवल कनेक्सन २ तथा फाइबर कनेक्सन ९ लाख ८५ हजार ७६३ छ। ९ लाख ८६ हजार ७९ ग्राहकसहित यो कम्पनी नेपालको शीर्ष कम्पनीको रुपमा रहेको छ।

२. डिस मिडिया नेटवर्क

डिस मिडिया नेटवर्क ३ लाख ४५ हजार ७६ इन्टरनेट जडान संख्या सहित दोस्रो स्थानमा छ। जसमध्ये सबै फाइबर कनेक्सन मात्र रहेको छ।

३. सुबिसु केबलनेट प्रालि

सुबिसु केबलनेट प्रालि ३ लाख १० हजार २९८ जडान संख्या सहित तेस्रो स्थानमा छ। जसमध्ये सबै फाइबर कनेक्सन रहेको छ। यो सङ्ख्यासहित सुबिसुले समग्र बजार हिस्साको १०.०७ प्रतिशत ओगटेको छ।

४.  भायानेट कम्युनिकेशन प्रालि

चौथो नम्बरमा रहेको भायानेट कम्युनिकेशन प्रालिको फागुनको इन्टरनेट जडान संख्या २ लाख ४३ हजार ६८७ छ। यसले बजारको समग्र हिस्साको ७.९० प्रतिशत ओगटेको छ।

५. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम 

उत्कृष्ट १० को पाँचौं नम्बरमा परेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालीको इन्टरनेट जडान संख्या १ लाख ८७ हजार २९९ छ। यसमध्ये १ लाख ८६ हजार ८०१ फाइबर कनेक्सन छ। ४९८ वायरलेसका ग्राहक रहेका छन्। यसले समग्रमा ६.०८ बजार हिस्सा ओगटेको छ।

६. क्लासिक टेक प्रालि

क्लासिक टेक प्रालिको इन्टरनेट जडान संख्या १ लाख ७८ हजार ९३४ छ। यसमध्ये ६९९ वायरलेस तथा १ लाख ७८ हजार २३५ फाइबर कनेक्सन रहेको छ। यसले ५.८० बजार हिस्सा ओगटेको छ।

७. टेकमाइण्ड्स नेटवर्क प्रालि

सूचीको सातौं नम्बरमा रहेको टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या ८४ हजार २०१ छ। यसमध्ये वायरलेस कनेक्सन २१६ तथा फाइबर कनेक्सन ८३ हजार ९८५ छ।  वेबसर्फरले समग्र बजारको २.७३ प्रतिशत हिस्सा ओगटेको छ।

८. सिजी कम्युनिकेसन प्रालि

चितवनमा मुख्य कार्यालय रहेको सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ७८ हजार ७२० छ। यीमध्ये सबै फाइबर कनेक्सन हो। यो कम्पनीले बजारको २.५५ प्रतिशत हिस्सा ओगटेको छ।

९. वाइफाइ नेपाल प्रालि

उत्कृष्ट १० को नवौँ नम्बरमा परेको वाइफाइ नेपाल प्रालिको इन्टरनेट जडान संख्या ६६ हजार १२६ छ। यसमध्ये सबै  फाइबरका ग्राहक छन्। यसले २.१५ प्रतिशत बजार हिस्सा ओगटेको छ।

१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि

उत्कृष्ट १० को सूचीमा अन्तिम नम्बरमा पर्न सफल ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ५४ हजार ५५४ छ। यसमा ५४ हजार ४७८ फाइबरमार्फत् सेवा लिने ग्राहकहरु छन् भने बाँकी ७६ वायरलेसका ग्राहक छन्। यसले बजारको १.७७ प्रतिशत हिस्सा ओगटेको छ।

प्रकाशित: १७ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया