Technology Khabar १४ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
अनलाइन जुवा (सट्टाबाजी) खेलाएको आरोपमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बुढानीलकण्ठ नगरपालिका-३ देउला टोलस्थित एक घरबाट ११ जना भारतीयहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेकामा भारतका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित वर्मा, २६ वर्षीय पिउस भारतद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षीय आकाश वर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकाश कुमार छन्।
प्रहरीका अनुसार उनीहरूले अनलाइन जुवा खेलाउने काम गर्थे। उनीहरूले दुई अर्बभन्दा बढी रकमको कारोबार गरेको देखिएको छ। त्यस्तै ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार समेत देखिएको प्रहरीको भनाई छ।
उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ चैत्र २०८१, बिहीबार