आयात शुल्क छली गरेको आरोपमा भारतमा सामसङलाई ६० करोड १० लाख डलर जरिवाना

Technology Khabar १४ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

सरकारलाई आयात शुल्क तिर्न असफल भएपछि सामसङले भारतमा ठूलो कर जरिवानाको सामना गर्ने भएको छ। भारत सरकारले कम्पनी र वरिष्ठ कार्यकारीहरू दुवैमाथि यी शुल्कहरू तिर्न असफल भएकोमा ठूलो जरिवाना लगाएको उल्लेख छ।

रोयटर्सबाट आएको यो समाचारमा सामसङ र यसका अधिकारीहरूले शुल्क छल्ने काम गरेकोमा कर र जरिवाना तिर्नुपर्ने भनिएको छ। दक्षिण कोरियाली टेक जायन्टले आयात गरेका टेलिकम इक्विपमेन्ट (दूरसञ्चार उपकरणहरू) माथि यी शुल्कहरू लगाइएको उल्लेख छ।

यो हालैका समयमा भारत सरकारले माग गरेको सबैभन्दा ठूलो कर जरिवाना मध्ये एक भएको बताइएको छ। सामसङ इन्डियाले कुल ६०१ मिलियन (६० करोड १० लाख) अमेरिकी डलर  रकम जरिवानामा तिर्न पर्ने भएको छ। यसमा १०० प्रतिशत जरिवाना सहित ४४.६ अर्ब भारतीय रुपैयाँ तिर्न बाँकी कर वा लगभग ५२० मिलियन अमेरिकी डलर समावेश रहेको बताइएको छ।

त्यति मात्र होइन, सरकारले ब्रान्डका कार्यकारीहरूलाई पनि जरिवाना गरेको र जसमा भारतका सात वरिष्ठ अधिकारीहरू समावेश रहेको बताइएको छ। सामसङका कार्यकारीहरूलाई ८१ मिलियन अमेरिकी डलर जरिवाना गरिएको उल्लेख छ जसमा नेटवर्क डिभिजनका उपाध्यक्ष सुङ बीम होङ, सीएफओ डोङ वोन चु, वित्त महाप्रबन्धक शीतल जैन र अप्रत्यक्ष कर महाप्रबन्धक निखिल अग्रवाल समावेश छन्।

ब्रान्डलाई “रिमोट रेडियो हेड्स” को ‘मिसक्लासिफिकेसन’को आरोप पनि लगाइएको छ जुन एक महत्वपूर्ण फोरजी टेलिकम कम्पोनेन्ट भएको र जसले सामसङलाई १० प्रतिशत वा २० प्रतिशत ट्यारिफबाट बच्नका लागि सहयोग गर्ने बताइएको छ।

सन् २०१८ देखि सन् २०२१ सम्मको अवधिमा दक्षिण कोरिया र भियतनामबाट ७८४ मिलियन (७८ करोड ४० लाख) अमेरिकी डलर बराबरका कम्पोनेन्ट आयात गरिएको थियो। मुकेश अम्बानीको स्वामित्वमा रहेको रिलायन्स जियोले यी कम्पोनेन्टहरू लोकप्रिय टेक ब्रान्डबाट खरिद गरेको उल्लेख छ।

यो सन् २०२४ मा भारतमा सामसङको खुद नाफाको ठूलो हिस्साको लागि पनि जिम्मेवार भएको बताइएको छ जसमा जम्मा ९५५ मिलियन (९५ करोड ५० लाख) अमेरिकी डलर समावेश रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १४ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया