Technology Khabar १ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएपछि यातायात व्यवस्थापन थप मर्यादित र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्।
बिहीबार जनकपुरधाम उपमहानगरपालिका-६ स्थित यातायात व्यवस्था कार्यालय धनुषाको नयाँ भवन र आधुनिक ट्रायल सेन्टरको भूमिपूजन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले यातायातलाई प्रदेश सरकारको प्रमुख आर्थिक जोतका रूपमा उल्लेख गर्दै यसलाई मर्यादित बनाएर सञ्चालन गर्न सके प्रदेश सरकारको आम्दानी वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।
उनले भने, “यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने हो भने प्रदेश सरकारको आम्दानीमा वृद्धि हुन सक्छ। आधुनिक ट्रायल सेन्टरको स्थापना यस दिशामा एउटा महत्त्वपूर्ण कदम हुने छ।”
यसै गरी श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले पनि यातायात क्षेत्रको विकासमा सरकारको योगदान र महत्त्वबारे आफ्नो धारणा राखे। जग्गादाता एवं सोता कुण्डका महन्त रामनरेश दासले एक बिघा क्षेत्रफल रहेको जग्गा कार्यालयको लागि दान गरेका छन्।
आजको गोरखापत्रबाट
प्रकाशित: १ चैत्र २०८१, शुक्रबार