
काठमाडौं ।
नेपालमा पछिल्लो महिना अर्थात् माघभरी मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम बढेको पाइएको छ। यो प्रवृत्ति असोजमा मिश्रित देखिएको थियो भने कार्तिकदेखि यता निरन्तर बढरिहेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/२०८२ को सातौं महिना माघसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा लागातार तेस्रो महिना बढोत्तरी भएको पाइएको हो।
आर्थिक वर्ष २०८०/८१ को कार्तिकबाट मंसिरमा जाँदा कारोबार सङ्ख्यामा ३४ लाख ६४ हजार ६६४ ले बढेर ४ करोड ७४ लाख ४६ हजार ९४८ पुगेको थियो। यसैगरी कारोबार रकम १३ अर्ब ७७ करोड ६० लाख रुपैयाँले बढेर ३ खर्ब ८८ अर्ब ४४ करोड १० लाख पुगेको थियो।
यस्तै मंसिरबाट पौष महिनासम्म आइपुग्दा कारोबार सङ्ख्यामा १५ लाख ४१ हजार ७६८ ले बढेर ४ करोड ८९ लाख ८८ हजार ७१६ पुगेको छ। यसैगरी कारोबार रकम ९ अर्ब ५४ करोड १० लाख रुपैयाँले बढेर ३ खर्ब ९८ अर्ब ३८ करोड २० लाख पुगेको थियो।
कारोबार रकम तथा सङ्ख्यामा देखिएको यो बढोत्तरीले माघ महिनामा पनि निरन्तरता पाएको छ। पौषबाट माघसम्म पुग्दा मोबाइल बैंकिङमार्फत् हुने कारोबार सङ्ख्यामा १५ लाख ४१ हजार ७६८ बढेर ५ करोड ९ लाख ८४ हजार २२ पुगेको छ।
यसैगरी कारोबार रकम पनि पौष महिनामा ३ खर्ब ९८ करोड ३८ लाख २० हजार रहेकामा माघ महिनासम्म आइपुग्दा ९ अर्ब ५५ करोडले बढेर समग्रमा ४ खर्ब ७ करोड ९३ लाख २० हजार हजार रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: १ चैत्र २०८१, शुक्रबार