खगोलविद्हरूले पत्ता लगाए अनौठो दोहोरिने रेडियो संकेतको रहस्य

Technology Khabar २९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।

खगोलविद्हरूले गत वर्ष पत्ता लागेको रहस्यमय दोहोरिने रेडियो संकेतको रहस्य पत्ता लगाएका छन्। टोलीले उक्त संकेतलाई मरेको “सेतो पुड्के” र यसको रातो पुड्के साथी तारा भएको अनौठो द्वय तारक प्रणालीबाट आएको पत्ता लगाएको छ।

यो रेडियो संकेत प्रत्येक दुई घण्टामा दोहोरिन्छ र पहिलो पटक एक दशकअघि पत्ता लागेको थियो। स्पेस डटकमका अनुसार संकेत ठूला सप्तर्षि तारक समूहको दिशाबाट आएको थियो।

नयाँ अनुसन्धानले यो संकेतको कारण उक्त सेतो र रातो पुड्के ताराबीचको चुम्बकीय क्षेत्र एकआपसमा ठोक्किँदा उत्पन्न भएको देखाएको छ। यो निकट द्वय तारक प्रणालीलाई ILTJ1101 भनेर चिनिन्छ।

यसअघि, यस्तो लामो अवधिको रेडियो संकेतहरू केवल न्यूट्रोन ताराबाट आएको पाइन्थ्यो, जसले गर्दा यो अनुसन्धानले तिनको उत्पत्तिमा नयाँ दृष्टिकोण दिएको स्पेस डटकमले उल्लेख गरेको छ।

“धेरै उच्च चुम्बकीय न्यूट्रोन तारा वा ‘म्याग्नेटार’ हरू छन्, जसले केही सेकेन्डको अवधिमा रेडियो पल्सहरू देखाउँछन्,” टोलीका सदस्य र नर्थवेस्टर्न विश्वविद्यालयका खगोलशास्त्री चार्ल्स किलप्याट्रिकले भने। “केही खगोलशास्त्रीहरूले तर्क गरेका छन् कि यी स्रोतहरू घुम्ने भएकाले नियमित अन्तरालमा पल्स उत्सर्जन गर्छन्, र स्रोत हामीतर्फ फर्किंदा मात्र हामीले त्यो रेडियो उत्सर्जन देख्छौं।

“अब, कम्तिमा केही लामो अवधिका रेडियो संकेतहरू द्वय तारक प्रणालीबाट आएको पुष्टि भएको छ। हामी आशा गर्छौं कि यसले रेडियो खगोलविद्हरूलाई न्यूट्रोन तारा वा म्याग्नेटार द्वय तारकहरूबाट उत्पन्न हुने नयाँ वर्गका स्रोतहरू पत्ता लगाउन प्रेरित गर्नेछ।”

यो अनुसन्धान बुधबार (मार्च १२) मा ‘नेचर एस्ट्रोनोमी’ जर्नलमा प्रकाशित भएको थियो।

मरेको ताराको खोजी

टोली नेतृ आइरिस डी रुइटरले अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयबाट २०२४ मा लो फ्रिक्वेन्सी एरे (एलओएफएआर) ले संकलन गरेको पुरानो डाटामा खोज गर्दै गर्दा यो संकेत पहिलो पटक पत्ता लगाएकी थिइन्। एलओएफएआर पृथ्वीबाट पत्ता लगाउन सकिने सबैभन्दा न्यून फ्रिक्वेन्सीमा काम गर्ने सबैभन्दा ठूलो रेडियो टेलिस्कोप हो।

पहिलो पटक यो पल्स २०१५ मा एलओएफएआरको डाटामा देखिएको थियो। पहिलो पल्स भेटेपछि, डी रुइटरले सोही स्रोतबाट थप ६ वटा पल्सहरू फेला पारेकी थिइन्। यी रेडियो तरंगका झिल्काहरू केही सेकेन्डदेखि केही मिनेटसम्म रहन सक्छन्। अवधि फरक भए पनि, यी संकेतहरू नियमित रूपमा प्रत्येक दुई घण्टामा दोहोरिन्छन्।

स्पेस डटकमका अनुसार यी संकेतहरू केही हदसम्म “फास्ट रेडियो बर्स्ट्स” (एफआरबी) भनिने ब्रह्माण्डीय घटनासँग मिल्छन्, तर निकै दुर्लभ छन्। “यी रेडियो संकेतहरू एफआरबी जस्तै देखिन्छन्, तर तिनको अवधि फरक छ,” किलप्याट्रिकले भने।

“पल्सहरू एफआरबी भन्दा कम ऊर्जा भएका हुन्छन् र प्रायः केही सेकेन्डसम्म रहन्छन्, जबकि एफआरबी मिलिसेकेन्डमा सकिन्छन्। “अहिले पनि ठूलो प्रश्न बाँकी छ — लामो अवधिका रेडियो संकेतहरू र एफआरबीबीच निरन्तरता छ कि यी अलग-अलग वर्गहरू हुन्?”

टोलीले यी नियमित रेडियो संकेतहरूको स्रोत पत्ता लगाउन एरिजोनाको मल्टिपल मिरर टेलिस्कोप (एमएमटी) अब्जरभेटोरी र टेक्सासको म्याकडोनाल्ड अब्जरभेटोरीमा थप अनुसन्धान गरेको थियो।

प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया