युक्रेनमा स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट बन्द नगर्ने मस्कको वाचा

  • Technology Khabar | २७ फाल्गुन २०८१, मंगलवार
युक्रेनमा स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट बन्द नगर्ने मस्कको वाचा

काठमाडौं ।

पोल्याण्डका विदेशमन्त्रीसँग अनलाइनमा भएको विवाद पछि अर्बपति तथा ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार इलन मस्कले आफ्नो स्टारलिङ्क स्याटेलाइट नेटवर्कमा युक्रेनको पहुँच कायम राख्ने वाचा गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोडिमिर जेलेन्स्कीबीच फेब्रुअरी २८ मा ह्वाइट हाउसमा भएको भेटपछि अमेरिकाले युक्रेनसँगको सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान निलम्बन गरेको छ।

यो घटनासँगै ट्रम्पका नजिकका सहयोगी मस्कले आफ्नो निजी स्टारलिङ्क सञ्चार प्रणालीमा युक्रेनी पहुँच काट्न सक्ने डर पैदा गरेको छ जुन किभका अग्रपंक्तिका सेनाहरूले युद्धभूमिमा सञ्चारको लागि व्यापक रूपमा प्रयोग गर्दछन्।

मस्कले भने पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीसँगको अनलाइन विवाद पछि त्यस्तो नहुने वाचा गरेका छन् र उक्त विवादले अमेरिकी विदेशमन्त्री मार्को रुबियोको पनि आक्रोश निम्त्याएको याहून्यूजलाई उद्धृत गर्दै टेलिग्राफले उल्लेख गरेको छ।

“अत्यन्त स्पष्ट रूपमा, म युक्रेनको राजनीतिसँग जतिसुकै असहमत भए पनि, स्टारलिङ्कले कहिल्यै आफ्नो टर्मिनलहरू बन्द गर्नेछैन” मस्कले लेखेका छन्।

“म केवल यो भन्दै छु कि स्टारलिङ्क बिना, युक्रेनी लाइनहरू ध्वस्त हुनेछन्, किनकि रूसीहरूले अन्य सबै सञ्चारहरू अवरुद्ध गर्न सक्छन्! हामी कहिल्यै त्यस्तो काम गर्नेछैनौं वा यसलाई बार्गेनिङ चिपको रूपमा प्रयोग गर्नेछैनौं” उनले थपे।

ट्रम्प प्रशासनले जेलेन्स्कीलाई खनिज सम्झौतामा हस्ताक्षर गर्न र स्पष्ट सुरक्षा ग्यारेन्टी बिना रूससँग युद्धविराम गर्न दबाब दिइरहेको छ।

मस्कले यसलाई समर्थन गरेको र यदि उनले कीभको सेनाको लागि स्टारलिङ्क बन्द गरे भने “सम्पूर्ण युक्रेनी फ्रन्ट लाइन ध्वस्त हुनेछ” भनि चेतावनी दिएका छन्।

“युक्रेनको लागि स्टारलिङ्कहरू प्रति वर्ष लगभग ४५० मिलियनको लागतमा पोलिश डिजिटलाइजेसन मन्त्रालयले भुक्तानी गर्छ” भनेर सिकोस्र्कीले एक्समार्फत एक पोस्टमा चेतावनी दिएका छन्।

मस्कले पोलिश मन्त्रीलाई “तिमीले लागतको सानो अंश तिर्छौ। र स्टारलिङ्कको कुनै विकल्प छैन” भनि जवाफ दिएको उल्लेख छ।

वासिङ्टनका शीर्ष कूटनीतिज्ञ, अमेरिकी विदेशमन्त्री रुबियोले पनि यस विवादमा जोड दिएको र सिकोस्र्कीलाई आरोप लगाएको उल्लेख छ।

“स्टारलिङ्कबाट युक्रेनलाई विच्छेद गर्ने कसैले पनि कुनै धम्की दिएको छैन। र ‘धन्यवाद’ भन्नुहोस् किनभने स्टारलिङ्क बिना युक्रेनले धेरै पहिले यो युद्ध हारिसकेका हुन्थ्यो र रुसीहरू अहिले पोल्याण्डको सीमामा हुने थिए”, भनि उनले उल्लेख गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

होन्डा इभी रणनीति फेरबदलतर्फ

  • Technology Khabar
  • २७ फाल्गुन २०८१, मंगलवार