
काठमाडौं ।
सिमेन्सले संयुक्त राज्य अमेरिकामा उत्पादन क्षेत्र विस्तार गर्न १८५ मिलियन डलर लगानी गर्ने योजना बनाएको छ। यसमा क्यालिफोर्निया र टेक्सासमा दुई नयाँ उत्पादन केन्द्रहरू खोल्ने योजना समावेश रहेको बताइएको छ।
संयुक्त राज्य अमेरिका कम्पनीका लागि सबैभन्दा ठूलो बजार हो। सिमेन्सको अमेरिकी उत्पादन पूर्वाधारमा गरिएको पछिल्लो लगानी र मिशिगन-आधारित सफ्टवेयर कम्पनी अल्टेयरको योजनाबद्ध अधिग्रहण सहित, कम्पनीले अमेरिकामा १० अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ।
“हामी अमेरिकी उद्योगको नवीनता र क्षमतामा विश्वास गर्छौं। यही कारण सिमेन्सले पछिल्ला २० वर्षमा अमेरिका भित्र ९० अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ। यस वर्षको लगानीपछि यो संख्या १०० अर्ब डलर नाघ्नेछ,” सिमेन्स एजीका अध्यक्ष तथा सीईओ रोलाण्ड बुशले विज्ञप्तिमा बताएका छन्। “हामी अमेरिकामा थप रोजगारी, प्रविधि, र एआई क्षमतामा वृद्धि ल्याउँदैछौं।”
एपीन्युजका अनुसार सिमेन्सको यो घोषणा चिप निर्माता कम्पनी ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले अमेरिकामा १०० अर्ब डलर थप लगानी गर्ने योजना सार्वजनिक गरेकै समयमा आएको छ। यसअघि कम्पनीले ६५ अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको थियो। यो नयाँ लगानी अन्तर्गत एरिजोनामा थप तीन चिप उत्पादन प्लान्टहरू र दुई प्याकेजिङ्ग केन्द्रहरू स्थापना गरिनेछ।
सिमेन्सले फोर्ट वर्थ, टेक्सास, र पोमोना, क्यालिफोर्नियामा दुई नयाँ उत्पादन केन्द्रहरू खोल्ने जनाएको छ। कम्पनीका अनुसार नयाँ लगानीले ९ सयभन्दा बढी दक्ष उत्पादन रोजगार सिर्जना गर्नेछ।
यी उत्पादन केन्द्रहरूबाट निर्मित उपकरणहरूले अमेरिकी व्यापारिक, औद्योगिक, र निर्माण क्षेत्रमा सहयोग पुर्याउने एपीन्युजले उल्लेख गरेको छ। साथै यसले एआई डाटा सेन्टरहरूलाई समेत ऊर्जा आपूर्ति गर्नेछ।
प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार