
काठमाडौं ।
सामान्यतया: कुनै पनि दुई पाङ्रे, चार पाङ्रेलगायतका सवारी साधन चलाउनका लागि चालक अनुमति पत्र अर्थात् लाइसेन्स अनिवार्य हुनुपर्दछ। लाइसेन्स नलिएको व्यक्तिले वा लाइसेन्सलगायतका कागजात नबोकी सवारी चलाउनु हुँदैन भन्ने सामन्य मान्यता छ।
तर लाइसेन्सबाहेक पनि सवारी चलाउन मिल्ने र नमिल्ने धेरै अवस्थाहरु हुन्छन्।
हालै सरकारले जारी गरेको सार्वजनिक ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ मा यी अवस्थाहरु प्रस्ताव गरिएका छन्।
यस्ता छन् अवस्थाहरु:
सवारी चलाउन नहुने:
(१) कसैले चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउनु हुँदैन ।
(२) कसैले आफ्नो स्वामित्वको वा आफ्नो जिम्मामा रहेको कुनै सवारी साधन सवारी चालक अनुमति पत्र प्राप्त नगरेको कुनै व्यक्तिलाई चलाउन दिनु हुँदैन ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्ति (सिकारू) लाई चालक प्रशिक्षण दिने प्रयोजनको लागि सवारी साधन चलाउन दिने गरी प्रदेश कानूनमा आवश्यक व्यवस्था गर्न सकिनेछ।
(४) सार्वजनिक सवारी चलाउनको लागि सम्बन्धित वर्गको व्यवसायिक चालक अनुमति पत्र अनिवार्य हुनेछ।
कस्ता व्यक्ति चालक हुन सक्दैनन्?
विधेयकअनुसार निम्न लिखित व्यक्तिहरु चालक अनुमतिपत्र प्राप्त गर्न अयोग्य मानिने छन्:-
(क) (क) ठूला सवारीको निमित्त तेइस वर्ष उमेर पूरा नगरेको
(ख) मझौला तथा सानो (चार पाइये) सवारीको लागि एकाइस वर्ष उमेर पूरा नगरेको
(ग) सानो तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीको लागि अठार वर्ष उमेर पूरा नगरेको
(घ) व्यवसायिक सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि आठ कक्षा उत्तिर्ण नगरेको
(ङ) छारे रोग भएको वा मानसिक सन्तुलन गुमाएको वा एकाएक रिङ्गटा लाग्ने वा मुर्छा पर्ने किसिमको रोग भएको
(च) ठूला र मझौला सार्वजनिक सवारीका लागि साठी वर्ष उमेर पूरा गरेको, (छ) रातो, हरियो, पहेंलो रंगहरु छुट्टाछुट्टै रुपमा छुट्याउन नसक्ने दृष्टिदोष भएको
(ज) रतन्धो भएको व्यक्ति, एक वा दुवै आँखाको दृष्टि गुमेको वा आँखाको देखे शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देखे शक्ति ठिक नभएको
(झ) एक वा दुवै हात, एक वा दुवै खुट्टा शक्तिहीन भै काम दिन नसक्ने भएको, (ञ) ध्वनी सङ्केत सुन्न नसक्ने गरी बहिरा भएको व्यक्तिलाई व्यवसायिक सवारी चालक अनुमतिपत्र प्रदान गरिने छैन।
(ट) भविष्यमा कुनै पनि सार्वजनिक सवारी साधन चलाउन नपाउने गरी निजले प्राप्त गरेको चालक अनुमतिपत्र खारेज गरिएको भएमा।
‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (ङ), (छ), (ज), (झ) र (ञ) मा उल्लिखित व्यक्तिहरुको हकमा निजी प्रयोजनको लागि चालक क्षमता परीक्षण गराई प्रदेश कानुन बमोजिम सवारी चालक अनुमतिपत्र प्रदान गर्न यस दफाले बाधा पुर्याएको मानिने छैन’, प्रस्तावमा उल्लेख छ।
यसबाहेक माथि उल्लिखित विभिन्न समस्या भएका व्यक्तिहरुको शारीरिक क्षमता परीक्षण मान्यता प्राप्त चिकित्सकबाट गराउनु पर्ने प्रावधान राखिएको छ।
प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार