अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रणनीतिक बिटक्वाइन सञ्चिति स्थापना गर्ने घोषणामा हस्ताक्षर

Technology Khabar २४ फाल्गुन २०८१, शनिबार

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै रणनीतिक बिटक्वाइन सञ्चिति स्थापना गर्ने घोषणा गरेका छन्। उनले शुक्रबार ह्वाइट हाउसमा क्रिप्टोकरेन्सी उद्योगका कार्यकारीहरूसँगको बैठकअघि यो निर्णय गरेका हुन्।

ह्वाइट हाउसका क्रिप्टोकरेन्सी नीति प्रमुख, अर्बपति डेभिड स्याक्सका अनुसार, यो सञ्चिति संघीय सरकारले आपराधिक वा नागरिक सम्पत्ति जफत प्रक्रियाबाट प्राप्त गरेका बिटक्वाइनहरूबाट पूँजीकृत गरिनेछ।

शुक्रबारको क्रिप्टो सम्मेलनमा ट्रम्पले बिटक्वाइनसहित चार अन्य क्रिप्टोकरेन्सी समेटेर रणनीतिक सञ्चिति निर्माण गर्ने आफ्नो योजना औपचारिक रूपमा घोषणा गर्ने अपेक्षा गरिएको छ।

रोयटर्सका अनुसार यसअघि यसै हप्ता, ट्रम्पले यस सञ्चितिमा समावेश गर्ने पाँच डिजिटल सम्पत्तिको नाम घोषणा गरेका थिए, जसका कारण तिनको बजार मूल्य उल्लेखनीय रूपमा बढेको थियो। ती पाँच क्रिप्टोकरेन्सी बिटक्वाइन, इथेर, एक्सआरपी, सोलाना र कार्डानो हुन्।

यस्तो सञ्चिति कसरी सञ्चालन गरिने र यसले करदातालाई कसरी फाइदा पुर्‍याउने भन्ने स्पष्ट छैन। स्याक्सले सरकारसँग यसको मूल्य अधिकतम बनाउन रणनीति रहेको बताए पनि विस्तृत विवरण दिएका छैनन्।

“संयुक्त राज्यले सञ्चितिमा राखिएको कुनै पनि बिटक्वाइन बेच्ने छैन। यो मूल्य सञ्चयको रूपमा राखिनेछ। यो सञ्चिति डिजिटल गोल्ड भनिने बिटक्वाइनका लागि डिजिटल फोर्ट नक्सजस्तै हुनेछ,” स्याक्सले भने।

ट्रम्पको कार्यकारी आदेशले वित्त मन्त्रालय र वाणिज्य मन्त्रालयका सचिवहरूलाई करदातामाथि कुनै अतिरिक्त खर्च नपर्ने गरी “बजेट-न्यूट्रल रणनीति” तयार गर्न निर्देशन दिएको छ।

बिटक्वाइनबाहेक अन्य टोकनहरू रहेको “अमेरिकी डिजिटल सम्पत्ति सञ्चिति” पनि रहनेछ, तर सरकार यसलाई स्वतः बढाउने छैन, केवल जफत प्रक्रियाबाट प्राप्त टोकनहरू मात्र समावेश गरिनेछन्, स्याक्सले स्पष्ट पारे।

स्याक्सको पोस्टपछि बिटक्वाइनको मूल्य ५ प्रतिशतभन्दा बढी घटेर ८५,००० डलरभन्दा तल पुगेको थियो, तर पछिल्लो कारोबारमा ८८,१०९ डलर मा पुगेको थियो।

ट्रम्पको रणनीतिक सञ्चिति घोषणा र उद्योगमैत्री नियमहरूको अपेक्षाले जनवरीमा बिटक्वाइन १०९,०७१.८६ डलरको सर्वकालीन उच्च मूल्यसम्म पुगेको थियो।

प्रकाशित: २४ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया