एनसेल र सीजी कम्युनिकेसन इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानमा जोडिए

Technology Khabar १८ फाल्गुन २०८१, आईतवार

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) मा दुई नयाँ सदस्यहरु थप भएका छन्। इन्टरनेट सेवा प्रदायकहरुको मात्र संस्थाको रुपमा चिनिँदै आएको संस्थामा अब मोबाइल सेवा प्रदायक समेत जोडिएको छ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड आइस्पानको नयाँ सदस्यको रुपमा गएको छ। कम्पनीले सदस्यता लिएको औपचारिक घोषणा आगामी साधारण सभाबाट गर्ने तयारी रहेको आइस्पान स्रोतले जानकारी दियो।

यसअघिसम्म, एनसेल आफ्ना समस्याहरु सम्बोधन गर्न एक्लै खटिएको देखिने गरेको थियो। तर पछिल्लो समय सरकार र नियामक नेपाल दूरसञ्चार प्राधिकरणको कोपभाजनमा परेपछि कम्पनी संस्थामा जोडिएको बताईएको छ।

“आइस्पान पनि एक्लै लडिरहेको र एनसेल पनि एक्लै लडिरहँदा कतिपय नीतिगत विषयमा एकरुपता हुन सकेको थिएन्,” स्रोतले भन्यो।

एनसेललाई आइस्पानमा सदस्यता दिने विषयमा आइस्पानको गत साता बसेको बैठकले निर्णय गरिसकेको छ। र उक्त निर्णयलाई प्रकृयागतरुपमा पुरा गर्ने तयारी रहेको छ। एनसेललाई टेल्कोको रुपमा भन्दा पनि नेटवर्क सेवा प्रदायकको रुपमा सदस्यता दिईएको बताईएको छ।

जानकार स्रोतकाअनुसार एनसेल बाहेक चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेसन लिमिटेडलाई समेत आइस्पानको सदस्यता प्रदान गरिएको छ।

“एनसेल र सीजीलाई मेम्बरसिप दिई आईस्पानको गतिविधिमा संलग्न गराउने र दैनिकी कार्य गर्ने निर्णय गरियो,” आइस्पानको निर्णयमा भनिएको छ।

सीजी कम्युनिकेसनले हाल इन्टरनेट सेवा प्रदान गरिरहेको छ भने कम्पनीसँग नेटवर्क सेवा प्रदायकको समेत अनुमति पत्र रहेको छ।

स्मरण रहोस् सीजीसँग यसअघि ग्रामीण दूरसञ्चारको अनुमति पत्र भएपनि सो अनुमति पत्रको म्याद सकिएसँगै स्वतः खारेजीमा परेको थियो।

प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार

तपाइको प्रतिक्रिया