Technology Khabar १० कार्तिक २०७५, शनिबार
काठमाडौं ।
काठमाडौं । विश्वको मूल्यवान कम्पनीको रुपमा माइक्रोसफ्ट दोस्रो स्थानमा उक्लिएको छ । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले अर्को टेक तथा ईकमर्श कम्पनी अमेजनलाई पछाडि पार्दै दोस्रो मूल्यवान कम्पनी भएको हो ।
विल गेट्सले स्थापना गरेको टेक कम्पनी माइक्रोसफ्ट कर्पको शेयर मूल्य बढेर दोस्रो मूल्यवान कम्पनी बनेको नभई अमेजनको शेयर मूल्य घटेको फाईदा माइक्रोसफ्टलाई भएको हो ।
अमेजन डटकमको चौमासिक नाफा रिपोर्टबाट लगानीकर्ताहरु खुशी नभएपछि शुक्रबार माइक्रोसफ्टलाई चिठ्ठा परेको हो । शुक्रबार मात्रै अमेजनको बजार पूँजीकरणबाट करिब ६५ विलियन डलर गूमाएको थियो ।
बजार पूँजीकरणको आधारमा टेक कम्पनी एप्पल इंक १ ट्रिलियन अमेरिकी डलरभन्दा बढि मूल्य हुँदै पहिलो स्थानमा नै रहेको छ ।
माइक्रोसफ्टको बजार पूँजीकरण वाल स्ट्रीटमा यसअघि सन् १९९८ मा सबैभन्दा धेरै पुगेको थियो ।
करिब ३ वर्षपछि बजारमा अमेजनको शेयर ७ प्रतिशतले घटेको छ, जसमा बिदाको सिजनमा बिक्री लक्ष्य नभेटाउँदा समस्या आएको हो । त्यस्तै माइक्रोसफ्टको शेयर पनि बजारले अपेक्षा गरेअनुसारको वृद्धि हुन सकेन भने गूगलको माउ कम्पनी अल्फाबेट इंकको शेयर पनि २.१ प्रतिशतले घटेको थियो ।
माइक्रोसफ्टको शेयर मूल्य बुधवारको तुलनामा शुक्रबार ४ प्रतिशतले बढेको थियो जब यसले चौमासिक नाफा लक्ष्य हासिल गर्न सफल भएको थियो । यसको शेयर वृद्धिमा कम्पनीको क्लाउड कम्यूटिंग व्यवसायको मूख्य योगदान थियो जसले अमेजनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
गएको अप्रिल महिनापछि माइक्रोसफ्टको शेयर बजार मूल्यमा शुक्रबार बढेर कुल ८२३ विलियन डलर हुन पुग्यो जसले अमेजनलाई पछाडि पार्दै दोस्रो ठूलो मूल्यवान कम्पनी बन्न सफल भयो । सोहि दिन अमेजनको बजार पूँजीकरण भने ८०५ विलियन अमेरिकी डलर हुन पुग्यो ।
माइक्रोसफ्ट दोस्रो ठूलो मूल्यवान कम्पनी भएपनि दुबै कम्पनीहरुले बजारको अनुमानअनुसार कार्यक्षमता देखाउन सकेनन् । माइक्रोसफ्टको औसत मूल्य लक्ष्य ९६३ विलियन अमेरिकी डलर थियो भने अमेजनको औसत मूल्य लक्ष्य १.०६८ ट्रिलियन थियो ।
माध्यम
प्रकाशित: १० कार्तिक २०७५, शनिबार