Technology Khabar २५ माघ २०८१, शुक्रबार
काठमाडौं ।
दक्षिण कोरियाको उद्योग मन्त्रालयले चिनियाँ एआई स्टार्टअप डीपसिकमा कर्मचारीहरूको पहुँच अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। बुधबार मन्त्रालयका एक अधिकारीले सुरक्षा चिन्ताका कारण यस्तो कदम चालिएको बताए। सरकारले मंगलबार एउटा सूचना जारी गर्दै डीपसिक र च्याटजीपीटीजस्ता एआई सेवा कार्यालयमा प्रयोग गर्दा सतर्क रहन आग्रह गरेको छ।
राज्य-निर्देशित कोरिया हाइड्रो एन्ड न्यूक्लियर पावरले यसै महिना डीपसिक लगायत अन्य एआई सेवाको प्रयोग रोकिसकेको जनाएको छ। रक्षा मन्त्रालयले पनि सैन्य प्रयोजनका कम्प्युटरहरूमा डीपसिकको पहुँच रोकिएको जानकारी बिहीबार दिएको छ।
योन्हाप न्युज एजेन्सीका अनुसार परराष्ट्र मन्त्रालयले बाह्य नेटवर्कमा जडान हुने कम्प्युटरहरूमा डीपसिकको पहुँच प्रतिबन्धित गरेको छ। तर मन्त्रालयले विशेष सुरक्षा उपायबारे पुष्टि गर्न अस्वीकार गरेको छ।
डीपसिकले टिप्पणीका लागि पठाइएको इमेलमा तत्काल प्रतिक्रिया दिएको छैन। च्याटजीपीटी विरुद्ध कुनै कदम चालिएको हो वा होइन भन्ने स्पष्ट छैन।
यो प्रतिबन्धसँगै दक्षिण कोरिया डीपसिकविरुद्ध सतर्कता अपनाउने वा प्रतिबन्ध लगाउने पछिल्लो देश बनेको छ।
यसै साता अष्ट्रेलिया र ताइवानले सरकारी उपकरणहरूमा डीपसिकको प्रयोग प्रतिबन्धित गरेका छन्। उनीहरूले यो चिनियाँ एआई स्टार्टअपले सुरक्षा जोखिम निम्त्याउन सक्ने बताएको छ।
इटालीको डेटा संरक्षण प्राधिकरणले जनवरीमा डीपसिकलाई आफ्नो गोपनीयता नीतिसम्बन्धी चिन्ताहरू सम्बोधन गर्न नसकेपछि देशमा च्याटबट प्रयोग रोक्न आदेश दिएको थियो।
युरोप, अमेरिका र भारतका केही अन्य सरकारहरूले पनि डीपसिकको प्रयोगका प्रभावहरूको अध्ययन गरिरहेका छन्।
दक्षिण कोरियाको सूचना गोपनीयता निगरानी संस्थाले डीपसिकसँग प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी कसरी व्यवस्थापन गरिन्छ भन्नेबारे प्रश्न गर्न योजना बनाएको छ।
गत महिना डीपसिकले आफ्नो पछिल्लो एआई मोडेल सार्वजनिक गरेपछि प्रविधि क्षेत्रमा हलचल मच्चिएको थियो। कम्पनीले आफ्नो मोडेल अमेरिकी उत्पादनहरूको तुलनामा बराबर वा राम्रो रहेको र निकै कम लागतमा तयार भएको बताएको छ।
दक्षिण कोरियाली च्याट एप सञ्चालन कम्पनी काकाओ कर्पले पनि आफ्ना कर्मचारीहरूलाई सुरक्षा चिन्ताका कारण डीपसिक प्रयोग नगर्न भनेको छ। यो घोषणा ओपनएआईसँग साझेदारीको एक दिनपछि गरिएको हो।
कोरियाली प्रविधि कम्पनीहरू अब जेनेरेटिभ एआई प्रयोगमा सतर्क बनेका छन्। एसके हाइनिक्सले एआई सेवाहरूको पहुँच सीमित गरेको छ र आवश्यक परेको अवस्थामा मात्र प्रयोग गर्न अनुमति दिएको छ।
नाभरले पनि आफ्ना कर्मचारीहरूलाई कम्पनी बाहिर डेटा स्टोर गर्ने जनरेटिभ एआई सेवाहरू प्रयोग नगर्न आग्रह गरेको छ।
प्रकाशित: २५ माघ २०८१, शुक्रबार