Technology Khabar २२ माघ २०८१, मंगलवार
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसर पारेर आफ्नो निश्चित फ्रिक्वेन्सीमा टूजी सेवा बन्द गर्ने योजना रहेको घोषणा गरेको छ।
आज आयोजित वार्षिकोत्सव कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालले फोरजी सेवा बिस्तारसँगै टूजी सेवा बन्द गर्ने योजना रहेको बताएकी हुन्। उनले जीएसएम फोरजी सेवातर्फ हालसम्म करिब १ करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको छ र निरन्तर विस्तारको क्रममा रहेको जानकारी दिईन्।
“वायरलेस ब्रोडब्यान्ड अर्थात् ४जी/एलटीई सेवा देशभर विस्तार गर्दै आएको छ । हालसम्म ७७ जिल्लाका ७४४ स्थानीय तहसम्म यसको पहुँच पुगेको छ भने नेटवर्क विस्तारका लागि संचालनमा रहेका ४६९७ स्थान मध्ये ४३२४ स्थानमा फोर जी सेवा संचालनमा रहेको छ,” प्रबन्ध निर्देशक पहाडीले भनिन्।
यसका साथै, आगामी दिनमा थप सेवा विस्तार गर्नको लागि ३३३ ईनोडबी (eNodeB) को पूर्वाधार तयारीको कार्य अघि बढिसकेको छ भने थप १२०० ईनोडबी सामान प्राप्ति गर्न वोलपत्रको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरिन्।
उनले चालु आवमा नै १८०० मेगाहर्जको टूजी सेवा बन्द गर्ने योजना सुनाईन्।
उनले भनिन्, “यसै आर्थिक बर्ष भित्रमा १८०० मेगाहर्जको टु जी सेवा बन्द गर्ने योजना रहेको छ। प्राधिकरणबाट Import License लगायतका कार्यहरुको सहजीकरण भैसकेको अवस्थामा सेवा विस्तार कार्यले थप गति लिनेछ।”
तर एमडी पहाडीले त्यसलाई कसरी उपयोग गरिनेछ भन्ने बिस्तृतमा जानकारी दिईनन्। संभवत कम्पनीले यसलाई फोरजी सेवाका लागि थप फ्रिक्वेन्सी उपयोग गर्नेछ।
टेलिकमकाअनुसार, फोरजी नेटवर्क विस्तारसँगै फोजरी डाटाको खपत उल्लेखनीय रूपमा वृद्धि भई हाल कुल मोबाइल डाटा खपतको ९० प्रतिशत भन्दा वढी हिस्सा फोरजी सेवाले ओगटेको छ। साथै, फोरजी भोल्टे सेवा प्रयोग गर्ने ग्राहक संख्या ५८ लाखभन्दा बढी पुगेको छ।
फाइभजी सेवा संचालनको लागि उपयुक्त ब्यवसायिक रणनीति सहितको अध्ययन सम्पन्न भई प्रतिवेदन पेश गर्ने कार्य अन्तिम चरणमा रहेको र भविष्यमा सरकारको निर्देशन बमोजिम फाइभजी प्रविधि भित्र्याउने कम्पनीको योजना रहेको जनाएको छ।
प्रकाशित: २२ माघ २०८१, मंगलवार