एप्पल इन्टेलिजेन्सलाई अप्रिलदेखि थप भाषाहरूमा ल्याइरहेको एप्पल सीईओ कुकको भनाई

Technology Khabar २१ माघ २०८१, सोमबार

काठमाडौं ।

एप्पलले गत सेप्टेम्बर महिनामा आईफोन १६ सिरिजको साथ प्रस्तुत गरेको एप्पल इन्टेलिजेन्सलाई केहि समय पछि अक्टोबर महिनामा जारी गरिएको थियो। हाल यो सबै देशहरूमा उपलब्ध नभएको र विश्वका अधिकांश क्षेत्रहरूमा अंग्रेजी भाषालाई मात्र समर्थन गर्दछ।

यद्यपि, एप्पल इन्टेलिजेन्सले अप्रिल महिनादेखि थप आधा दर्जन भन्दा बढी भाषाहरूको लागि समर्थन पाउने भएको छ।

एप्पलका सीईओ टिम कुकबाट कम्पनीको २०२४ को चौथो त्रैमासको आय कलको क्रममा यो घोषणा आएको हो। “अप्रिलमा, हामी एप्पल इन्टेलिजेन्सलाई फ्रेन्च, जर्मन, इटालियन, पोर्चुगिज, स्पेनिश, जापानी, कोरियाली र सरलीकृत चिनियाँका साथै सिंगापुर र भारतमा स्थानीयकृत अंग्रेजीलगायत थप भाषाहरूमा ल्याइरहेका छौं” कुकले भनेका छन्।

कुकले आठओटा भाषाहरूको बारेमा उल्लेख गरेतापनि एप्पलको समर्थन पृष्ठमा एप्पल इन्टेलिजेन्सको लागि भियतनामी भाषा पनि समावेश रहेको उल्लेख छ। यी भाषाहरूको लागि समर्थन सफ्टवेयर अपडेट मार्फत अप्रिल महिनामा डेलिभर गरिनेछ।

एप्पल इन्टेलिजेन्स हाल अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, आयरल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिकामा आईओएस १८.२ वा त्यसपछिका, आईप्याडओएस १८.२ वा पछिका, र म्याकओएस सेक्विया १५.२ वा पछि चल्ने एप्पल डिभाइसहरूको लागि उपलब्ध रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया