Technology Khabar १७ माघ २०८१, बिहीबार
काठमाडौं ।
हालै खगोलविदहरुले पत्ता लगाएको नयाँ 2024 YR4 नामक नयाँ धूमकेतु आगामी डिसेम्बर २०३२ मा पृथ्वीमा ठोक्किने १.२ प्रतिशत सम्भावना देखिएको छ। यो धूमकेतुको चौडाइ करिब १९६ फिट (६० मिटर) रहेको अनुमान छ र अहिले पृथ्वीबाट २७ मिलियन माइल टाढा छ।
स्पेस डटकमका अनुसार फुटबल मैदानको आधा चौडाइ जति रहेको यो नियर-अर्थ अब्जेक्ट (एनईओ) आगामी २२ डिसेम्बर २०३२ मा पृथ्वीको अत्यन्त नजिक आउनेछ।
नासाको सेन्टर फर एनईओ स्टडीज (सीएनईओएस) अनुसार यो धूमकेतु पृथ्वीबाट ६६,००० माइल (१,०६,२०० किलोमिटर) टाढा पुग्न सक्नेछ। तर यसको कक्षीय अर्थात् अर्बिटल अनिश्चिततालाई ध्यानमा राख्दा यो पृथ्वीलाई सिधै ठोक्किने सम्भावना पनि रहेको छ।
यदि यो धूमकेतु पृथ्वीसँग ठोक्किएको खण्डमा यसले वायुमण्डलमा “एयरबर्स्ट” नामको विस्फोट गराउन सक्छ, वा जमिनमा ठोक्किएर गहिरो खाल्डो बनाउन सक्छ।
यसै कारण धूमकेतु 2024 YR4 युरोपियन स्पेस एजेन्सीको एनईओ इम्प्याक्ट रिस्क लिस्ट र नासाको सेन्च्री रिस्क टेबलमा शीर्ष स्थानमा पुगेको छ।
“धूमकेतु ठोक्किने सम्भावना ८३ मा १ पुगेको छ,” क्याटालिना स्काई सर्वे परियोजनाका इञ्जिनियर र धूमकेतु खोजकर्ता डेभिड र्याङ्किनले ब्लु-स्काईमा लेखेका छन्। “यो आकारको चट्टानको सम्भावित ठोक्काइको सबैभन्दा उच्च सम्भावना मध्ये एक हो।”
कहाँ ठोक्किन सक्छ धूमकेतु 2024 YR4?
यो धूमकेतु सुरुमा नासाद्वारा समर्थित एटीएलएएस परियोजनाबाट चिलीको रियो हर्टाडोमा रहेको टेलिस्कोपको प्रयोगबाट पत्ता लागेको हो। पछि, र्याङ्किनले क्याटालिना स्काई सर्वेले सङ्कलन गरेको डेटा प्रयोग गरेर धूमकेतु पुनः पत्ता लगाए।
र्याङ्किनका अनुसार, हाल धूमकेतु ठोक्किने सम्भावित क्षेत्र अर्थात् रिस्क करिडोर दक्षिण अमेरिका हुँदै एटलान्टिक महासागर र दक्षिण अफ्रिकासम्म फैलिएको छ।
“धूमकेतुको कक्षीय मार्ग अहिले धेरै अनिश्चित छ, त्यसैले यो ठोक्किने वा नठोक्किने बारेमा ठ्याक्कै भन्न सकिन्न। हालको सबैभन्दा सम्भावित नतिजा पृथ्वीलाई नछोई नजिकबाट जाने हो,” उनले भने।
धूमकेतु ठोक्किए पनि अहिले ठूलो चिन्ताको विषय नभएको र्याङ्किनले थप स्पष्ट पारे। खगोलविद्हरूले धूमकेतुका धेरै विशेषताबारे अझै थाहा पाएका छैनन्, जसले ठोक्किएमा हुने क्षतिको स्तरमा प्रभाव पार्न सक्छ।
“नयाँ अवलोकन र कक्षीय गणनाका साथ, ठोक्काइको सम्भावना र प्रभाव क्षेत्रबारे अझै स्पष्टता आउनेछ,” र्याङ्किनले बताए।
धूमकेतु 2024 YR4: आकार, संरचना र सम्भावित क्षति
“धूमकेतुले पुर्याउन सक्ने क्षतिमा यसको आकार, संरचना र ठोक्काइको स्थान मुख्य भूमिका खेल्छ,” डेभिड र्याङ्किनले भने। “हालको कक्षीय स्थितिमा, धूमकेतु बाहिरिँदैछ, जसले यसको आकार र संरचनाबारे पक्का गर्न गाह्रो बनाएको छ। आकार निश्चित गर्न रडार अवलोकन सबैभन्दा राम्रो तरिका हो, तर अहिले त्यो सम्भव छैन।”
खगोलविद्हरूले २०२८ मा धूमकेतु 2024 YR4 ले पृथ्वीको नजिकबाट कम जोखिमयुक्त यात्रा गर्ने समयमा यसको आकार र संरचनाबारे थप जानकारी पाउने अवसर पाउनेछन्। त्यस समयमा यो पृथ्वीबाट ५० लाख माइल (८ मिलियन किलोमिटर) टाढा रहनेछ।
धूमकेतु 2024 YR4 ले पुर्याउन सक्ने क्षति कस्तो होला?
हाल उपलब्ध डाटा सही भएको खण्डमा भने धूमकेतु 2024 YR4 को सम्भावित ठोक्काइले पृथ्वीलाई कस्तो जोखिम पुर्याउन सक्छ?
“यो धूमकेतुको आकार १९०८ को टुङ्गुस्का घटनामा ठोक्किएको चट्टान वा मेटिअर क्रेटरको चट्टानको जस्तै हुनसक्छ,” र्याङ्किनले भने। “यसको प्रभाव क्षेत्रीय भन्दा स्थानीय स्तरको हुने सम्भावना छ, तर यसको ठोक्काइले हानेको क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्छ।”
टुङ्गुस्का घटना मानव इतिहासमा सबैभन्दा ठूलो धूमकेतु ठोक्काइ घटना मानिन्छ। यसले वायुमण्डलमा विस्फोट हुँदा ५ करोड टन टीएनटी बराबर ऊर्जा उत्पादन गर्यो जसले ८० मिलियन रूखलाई समतल बनायो र ८३० वर्ग माइल (२१५० वर्ग किमि) क्षेत्रमा क्षति पुर्यायो।
“यदि 2024 YR4 ढुंगे संरचनाबाट बनेको छ भने, यसले वायुमण्डलमा ठूलो विस्फोट (एयर बर्स्ट) र जमिनमा आगोको गोलो बनाउँछ,” र्याङ्किनले भने। “यदि यो फलामको बनेको छ भने, वायुमण्डल छिचोलेर सिधै जमिनमा ठोक्किन्छ र खाल्डो बनाउँछ। त्यसैले, धूमकेतुको कक्षीय मार्ग मात्र होइन, यसको संरचना र आकार बुझ्न महत्त्वपूर्ण छ।”
प्रकाशित: १७ माघ २०८१, बिहीबार