ओपनएआईले रिजनिङ एआई ०३ मिनिलाई दियो अन्तिम रुप, छिट्टै सार्वजनिक गर्ने

Technology Khabar ८ माघ २०८१, मंगलवार

काठमाडौं ।

च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो नयाँ रिजनिङआई मोडेल ओ३ मिनीको संस्करण तयार गरी दुई हप्ताभित्र लन्च गर्न लागेको सीईओ साम अल्टम्यानले शुक्रबार जानकारी दिएका छन्।

माइक्रोसफ्टको समर्थन पाएको यो कम्पनीले प्रयोगकर्ताहरूको प्रतिक्रियालाई ध्यानमा राख्दै, एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) र च्याटजीपीटी एकैसाथ सार्वजनिक गर्ने योजना बनाएको अल्टम्यानले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्।

रोयटर्सका अनुसार गत डिसेम्बरमा ओपनएआईले रिजनिङ एआई मोडेलहरू ओ३ र ओ३ मिनी को परीक्षण गरिरहेको घोषणा गरेको थियो, जसले अल्फाबेटको गुगलजस्ता प्रतिस्पर्धीसँगको प्रतिस्पर्धालाई थप तीव्र बनाउने संकेत गरेको थियो। यी मोडेलहरूले जटिल समस्या समाधान गर्न सक्ने क्षमता राख्छन्।

यो एआई स्टार्टअपले ओ१ मिनीलाई जनवरीको अन्त्यसम्म लन्च गर्ने र त्यसपछि पूर्ण ओ३ मोडेल ल्याउने योजना बनाएको थियो। यी लार्ज ल्याङ्ग्वेज मोडेलहरू वर्तमान मोडेलहरू भन्दा शक्तिशाली हुने, नयाँ लगानीकर्ता र प्रयोगकर्ताहरू आकर्षित गर्ने अपेक्षा गरिएको थियो।

सेप्टेम्बर २०२४ मा, ओपनएआई ले ओ१ आई मोडेलहरू जारी गरेको थियो, जसले कठिन समस्या समाधान गर्न थप समय खर्च गर्ने क्षमता देखाएको थियो।

कम्पनीका अनुसार, ओ१ मोडेलहरू विज्ञान, कोडिङ र गणितमा जटिल कामहरू बुझ्न र समाधान गर्न सक्षम थिए। यसअघिका मोडेलहरूको तुलनामा यी मोडेलहरूले थप चुनौतीपूर्ण समस्या समाधान गर्न सक्थे।

नयाँ ओ३ र ओ३ मिनी मोडेलहरू ओ१ मोडेलहरूभन्दा अझ शक्तिशाली हुने कम्पनीले पहिले नै बताइसकेको छ।

यसै हप्ता ओपनएआईले च्याटजीपीटीमा टास्क्स नामक बीटा फिचर प्रस्तुत गर्ने घोषणा गरेको थियो। यो भर्चुअल असिस्टेन्टको क्षेत्रमा एप्पलको सिरी र अमेजनको एलेक्सासँग प्रतिस्पर्धा गर्नको लागि ल्याइएको संकेत गरिएको छ।

२०२२ को अन्त्यतिर च्याटजीपीटी लन्च भएपछि, आई कम्पनीहरूमा लगानीको लहर सुरु भएको थियो। यसको बढ्दो लोकप्रियता र नयाँ उत्पादनहरूका कारण ओपनएआई ले २०२४ को अक्टोबरमा ६.६ अर्ब डलर लगानी प्राप्त गरेको थियो।

प्रकाशित: ८ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया