Technology Khabar ३ माघ २०८१, बिहीबार
काठमाडौं ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा कार्यरत रहेका इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारी नक्कली प्रमाणपत्रको मुद्दामा दोषी ठहर भएका छन्।
उनले नक्कली प्रमाणपत्रमार्फत नियुक्ति लिएको भन्दै अदालतले विशेष अदालतले भ्रष्ट्राचारको मुद्दामा दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा रितेन्द्र थापाको संयुक्त इजलासले अधिकारीलाई दोषी ठहर हुने फैसला गरेको हो।
अधिकारीले ‘द इन्स्टिच्युसन अफ इन्जिनियरिङ’ भारत कोलकत्ताबाट इन्जिनियरिङ उतीर्ण गरेको शैक्षिक प्रमाणपत्र नक्कली देखिएको विशेषको ठहर छ।
अधिकारीले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र ‘द इन्सिटच्युसन अफ इन्जिनियरिङ’ एवं त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले नक्कली भएको पुष्टि गरेको विशेषको फैसलामा उल्लेख छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भ्रष्टाचार गरेको देखिन आएकाले विशेषले अधिकारीलाई ६ महिना कैद र दश हजार रुपैयाँ जरिवाना तोकिएको छ।
उनले ‘द इन्सिटच्युसन अफ इन्जिनियरिङ’ कोलकत्ताबाट इन्जिनियरिङ उतीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा २०६० माघ २० देखि इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड सहायकस्तर प्रथम तहको प्राविधिक सेवामा नियुक्त भई २०६१ फागुन ३ गते अधिकृत छैठौँ तहमा कार्यरत थिए।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी नियुक्ति लिएको भन्दै उनका विरुद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै गत असारमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
प्रकाशित: ३ माघ २०८१, बिहीबार