३० प्रतिशत कमिसन लिएर उपभोक्तालाई १.५ अर्ब पाउन्ड घाटा पुर्याएको एप्पलमाथि आरोप

  • Technology Khabar | २ माघ २०८१, बुधबार
३० प्रतिशत कमिसन लिएर उपभोक्तालाई १.५ अर्ब पाउन्ड घाटा पुर्याएको एप्पलमाथि आरोप

काठमाडौं ।

एप्पलले आफ्नो एप स्टोरमार्फत एप डेभलपरहरूसँग अन्यायपूर्ण रूपमा ३० प्रतिशत कमिसन लिएर आफ्नो प्रभुत्वको दुरुपयोग गरेको आरोप लागेको छ। लण्डनको एक ट्रिब्युनलले सोमबार सुनेको मुद्दामा एप्पलले बेलायती उपभोक्ताहरूलाई झन्डै १.५ अर्ब पाउन्ड (१.८ अर्ब डलर) घाटा पुर्‍याएको आरोप लगाइएको छ।

अमेरिकी प्राविधिक कम्पनी एप्पलले बेलायतका करिब २ करोड आइफोन र आइप्याड प्रयोगकर्ताहरूको तर्फबाट दायर गरिएको सामूहिक मुद्दाको सामना गरिरहेको छ। उनीहरूले एप किन्नमा अतिरिक्त शुल्क तिर्नुपरेको दावी गरेका छन्।

यद्यपि एप्पलले यो मुद्दालाई आधारहीन भनी अस्वीकार गर्दै आफ्नो आईओएस प्रणालीको एकीकृत दृष्टिकोणले उपभोक्ताहरूलाई सुरक्षा र गोपनीयताको फाइदा पुर्‍याएको दावी गरेको रोयटर्सले उल्लेख गरेको छ।

लण्डनको कम्पिटिसन अपील ट्रिब्युनलमा भएको यो मुद्दा बेलायतको नयाँ क्लास एक्शन मुद्दा प्रणाली अन्तर्गत कुनै प्राविधिक दिग्गजविरुद्ध सुनुवाइमा पुगेको पहिलो मुद्दा हो। यस्तै गुगलविरुद्ध एप डेभलपरलाई प्ले स्टोर प्रयोग गर्दा लिने कमिसनबारेको १.१ अर्ब डलरको मुद्दा २०२५ को अन्त्यतिर सुरु हुने बताइएको छ।

अन्य मुद्दाहरू पनि विचाराधीन

एप्पलविरुद्ध एप डेभलपरहरूको तर्फबाट अर्को छुट्टै मुद्दा पनि दायर गरिएको छ। यसैगरी गुगल, मेटा र अमेजन पनि बेलायतमा ठूलो मूल्यका सामूहिक मुद्दाहरू सामना गर्दैछन्।

सोमबार सुरु भएको मुद्दा दायर गरेकी बेलायती शिक्षाविद् रेचेल केन्टका अनुसार एप्पलले एप वितरण र इन-एप खरीदमा सबै प्रतिस्पर्धालाई हटाएर “अत्यधिक नाफा” कमाएको छ।

उनका वकिलहरूले भने, “एप्पलले केवल प्रभुत्व मात्र राखेको छैन … यो १००% एकाधिकारको स्थिति हो।”

तर एप्पलले भने अधिकांश डेभलपरले कुनै पनि कमिसन नतिर्ने बताएको छ। कम्पनीका वकिल मेरी डेमेट्रियोले भने, “एप्पलको कमिसन आईओएस इकोसिस्टमले दिने ठूलो लाभहरूको प्रतिबिम्ब हो।” डेमेट्रियोले यो मुद्दालाई एप्पलका बौद्धिक सम्पत्ति अधिकारलाई बेवास्ता गर्ने भनेर आलोचना गरे। सात हप्तासम्म चल्ने यो सुनुवाइमा यसै साता एप्पलका मुख्य वित्तीय अधिकारी केभन परेख को बयान सुन्ने तयारी रहेको उल्लेख छ।

प्रकाशित: २ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार