Technology Khabar १ माघ २०८१, मंगलवार
काठमाडौं ।
इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप (डिजिटल) प्रणालीको सुरु गरेको छ।
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयप्रति रुचि बढाउनका लागि मासिक रूपमा अभिभावक पढाउँदै आएको गाउँपालिकाले अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि मोबाइल एप (डिजिटल) प्रणालीको सुरु गरेको हो।
पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले बाल स्याहार, घरबाटै शिक्षा दिन र बालबालिकाको स्वास्थ्य सुधारका लागि मोबाइल एप निर्माण गरी अभिभावकको सबै विवरण राख्ने गरी निर्माण एप निर्माण गरी अभिभावकको सबै विवरण एपबाटै अद्यावधिक गर्न सुरु गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख श्रुती तामाङले जानकारी दिइन्।
प्रयास प्रारम्भको प्राविधिक सहयोगमा अभिभावकको सबै विवरण राख्नेगरी निर्माण गरिएको मोबाइल एप नेपालमै फरक र पहिलो अभिभावक शिक्षासम्बन्धीको एप भएको प्रयास प्रारम्भका विज्ञ लोकप्रिय खनालले जानकारी दिए। अभिभावक शिक्षामा सहजकर्ताको समेत काम गरिरहेका खनालले रोङमा मात्र नभई देशका अन्य पालिकालाई समेत काम लाग्नेगरी एप निर्माण गरिएको बताए।
खनालले भने, ‘प्रविधिको प्रयोगले शिक्षकको समय बचत गर्छ र त्यो समय उहाँहरूले विद्यालयका अन्य काममा खर्चन सक्नुहुन्छ।”
अभिभावक उपस्थिति र मूल्याकनको मापन गर्ने गरी तयार गरिएको मोबाइल एप शिक्षा शाखा, सहजकर्ता शिक्षक र विद्यालयले प्रयोग गर्ने गरी निर्माण गरिएको छ।
उक्त एपमा विद्यार्थी नियमित भए/नभएको, अभिभावकले विद्यार्थीको पढाइबारे विद्यालयमा चासो राखे/नराखेको सबै जानकारी थाहा पाउन सकिन्छ।
गाउँपालिकाले एक वर्षअघिदेखि कार्यविधि नै बनाएर सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनामा एक पटक विद्यालयमा भेला पारेर अभिभावक शिक्षा दिँदै आएको छ।
गाउँपालिकाले महिनामा एक दिन अभिभावक अनिवार्य विद्यालयमा आएर अभिभावक शिक्षा लिनुपर्ने र त्यो दिन विद्यार्थीले घरमा बसेर अभिभावकको काम गर्नुपर्ने बाध्यकारी कानुन नै निर्माण गरेको छ।
हालसम्म गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थीका अभिभावकमध्ये एक हजार तीन सयभन्दा बढीलाई अभिभावक शिक्षा दिइसकेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए।
उनले अभिभावक दर्ता, हाजिरी, अभिभावकको शैक्षिक मूल्याङ्कन, हाजिरी प्रतिवेदन मूल्याङ्कन प्रतिवेदन र अभिभावक परिचयपत्रसमेत एपबाटै अध्ययन गर्न सकिने भएकाले पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढ्न थालेको जानकारी दिए।
अभिभावक शिक्षासँगै गाउँपालिकाले आमा समूहलाई सक्रिय बनाएको छ। आमा समूह परिचालन गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा काम थालिएको छ। पालिकाले कार्यविधि निर्माण गर्दै अभिभावक परिचयपत्र, अभिभावक शिक्षा, अनुगमन, मूल्याकन, पुरस्कार र दण्ड सजायका विषयमा स्पष्ट उल्लेख गरेको छ।
अभिभावक शिक्षा लागू भएपछि विद्यार्थी नियमित विद्यालय जाने विद्यार्थीको स्वास्थ्य र खानपानमा ख्याल पुग्ने गरेको रोङ ६ को सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिए।
आजको गोरखापत्रबाट
प्रकाशित: १ माघ २०८१, मंगलवार