Technology Khabar २८ पुष २०८१, आईतवार
काठमाडौं ।
माइक्रोसफ्टले एउटा समूहलाई आफ्ना क्लाउड एआई उत्पादनका सुरक्षा सीमा तोड्न उपकरण विकास र प्रयोग गरेको आरोप लगाउँदै कानुनी कारबाही अघि बढाएको छ।
डिसेम्बरमा भर्जिनियाको इस्टर्न डिस्ट्रिक्टको अमेरिकी जिल्ला अदालतमा दायर गरेको उजुरी अनुसार १० जना नाम नखुलाइएका प्रतिवादीहरूले चोरी गरिएका ग्राहक प्रमाणपत्रहरू र विशेष रूपमा तयार गरिएको सफ्टवेयर प्रयोग गरी माइक्रोसफ्टको अज्युर ओपनएआई सर्भिसमा अनधिकृत पहुँच गरेको आरोप लगाइएको छ।
यो सेवा च्याटजीपीटी निर्माता ओपनएआईको प्रविधिबाट सञ्चालित पूर्ण व्यवस्थापित सेवा रहेको टेकक्रञ्चले जनाएको छ।
माइक्रोसफ्टले उजुरीमा प्रतिवादीहरूलाई “डोज” (कानुनी उपनाम) भनेर उल्लेख गर्दै कम्प्युटर फ्रड एन्ड अब्युज एक्ट, डिजिटल मिलेनियम कपीराइट एक्ट, र संघीय र्याकेटियरिङ कानुन उल्लङ्घन गरेको आरोप लगाएको छ।
प्रतिवादीहरूले अनधिकृत रूपमा माइक्रोसफ्टको सफ्टवेयर र सर्भर प्रयोग गरी “अपमानजनक,” “हानिकारक,” र “अवैध सामग्री” उत्पादन गरेको उजुरीमा दावी गरिएको छ। माइक्रोसफ्टले उत्पन्न सामग्रीबारे विशिष्ट विवरण भने उपलब्ध गराएको छैन। माइक्रोसफ्टले रोकथामका आदेशहरू, “अन्य न्यायोचित” राहत, र क्षतिपूर्ति मागेको छ।
उजुरीमा माइक्रोसफ्टले सन् २०२४ को जुलाईमा अज्युर ओपनएआई सर्भिसका ग्राहक प्रमाणपत्र—विशेष गरी एपीआई ‘की’ हरु चोरी भएको पत्ता लगाएको बताएको छ।
एपीआई ‘की’ हरु एप्लिकेशन वा प्रयोगकर्तालाई प्रमाणित गर्न प्रयोग गरिन्छ। अनुसन्धानपछि माइक्रोसफ्टले ती ‘की’ हरुका लागि रकम तिरेका ग्राहकहरूबाट चोरी भएको फेला पारेको छ।
“प्रतिवादीहरूले यो सबै एपीआई ‘की’ हरु कसरी प्राप्त गरे भन्ने कुरा स्पष्ट छैन,” माइक्रोसफ्टको उजुरीमा उल्लेख छ, “तर उनीहरूले माइक्रोसफ्टका धेरै ग्राहकहरूबाट एपीआई ‘की’ हरु चोरी गर्न एक व्यवस्थित ढाँचामा काम गरेको देखिन्छ।”
प्रतिवादीहरूले अमेरिकी ग्राहकहरूको चोरी गरिएका अज्युर ओपनएआई सर्भिस एपीआई ‘की’ हरु प्रयोग गरी “ह्याकिङ-ए-ए-सर्भिस” योजना बनाएका माइक्रोसफ्टले आरोप लगाएको छ। यो योजना कार्यान्वयन गर्न प्रतिवादीहरूले de3u नामको क्लाइन्ट-साइड उपकरण र माइक्रोसफ्टका प्रणालीहरूसँग सञ्चार प्रक्रिया गर्न सफ्टवेयर तयार गरेका छन्।
de3u ले प्रयोगकर्ताहरूलाई चोरी गरिएका एपीआई ‘की’ हरुको मद्दतले डाल-ए मोडल प्रयोग गरी छविहरू सिर्जना गर्न अनुमति दिएको माइक्रोसफ्टको दावी छ। यसले प्रयोगकर्ताहरूलाई आफ्नै कोड लेख्न आवश्यक नपर्ने बनाएको थियो।
साथै de3u ले अज्युर ओपनएआई सर्भिसले छविहरू सिर्जना गर्न प्रयोग गरिएका प्रम्प्टहरूलाई पुन: संशोधन गर्ने प्रक्रियालाई पनि रोक्न खोजेको माइक्रोसफ्टले उजुरीमा दावी गरेको छ। उदाहरणका लागि प्रम्प्टमा आपत्तिजनक शब्दहरू भएको खण्डमा यस्तो संशोधन हुने गर्दछ।
प्रकाशित: २८ पुष २०८१, आईतवार