पर्सामा नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट हुने

  • Technology Khabar | २८ पुष २०८१, आईतवार
पर्सामा नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट हुने
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

पर्सामा नेपाली नागरिकताको सिफारिस अब अनलाइन प्रणालीबाट हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारी गर्दै प्रमाणपत्र वितरण तथा नागरिकताको अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस हुने बताएको छ।

सूचनामा स्थानीय तहबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्स्टर्नल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र प्रतिलिपि बाहेकको नेपाली नागरिकता प्रमाण पत्र जारी गर्न अनलाइन मार्फत सिफारिस गर्ने व्यवस्था कार्यान्वयन गर्न सबै स्थानीय तहलाई सार्वजनिक सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी सुमन कुमार कार्की कार्कीले जानकारी दिए।

यसको लागि स्थानीय तहका सूचना प्रविधि अधिकृत तथा वडा सचिवहरूलाई नेपाली नागरिकताको सिफारिस अब अनलाइन प्रणालीबाट गर्न निर्देशन दिइएको छ।

पर्सामा जिल्ला प्रशासन कार्यालय, पर्साको समन्वय र सहजीकरणमा गृह मन्त्रालयद्वारा भर्चुअल माध्यमबाट अनलाइन नागरिकता सिफारिस सम्बन्धी तालिम समेत दिइसकेको छ।

अनलाइन प्रणालीका लागि सबै स्थानीय तहको युजर आइडी समेत बनी सकेकोले आगामी पुस २८ गते देखि पर्साका १ सय १२ ओटै वडा कार्यालयबाट अनिवार्य रुपमा अनलाइन प्रणाली मार्फत नयाँ नागरिकताको सिफारिस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरेको छ।

प्रकाशित: २८ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...