सीईएस २०२५: लस भेगासमा एआई तथा सस्टेनेबिलिटीसम्बन्धी अत्याधुनिक प्रविधि र उपकरणहरूको बृहत् प्रदर्शनी

Technology Khabar २२ पुष २०८१, सोमबार

काठमाडौं ।

संसारको सबैभन्दा ठूलो टेक्नोलोजी शो (प्राविधिक प्रदर्शनी) मध्येको एक कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२५ आधिकारिक रूपमा लस भेगासमा जनवरी ७ देखि १० तारिख सम्म चल्नेछ।

विश्वभरका शीर्ष कम्पनीहरू र स्टार्ट–अपहरूले विश्वको सबैभन्दा ठूलो प्राविधिक कार्यक्रममा आफ्ना उत्पादनहरू र प्रस्तावहरू प्रदर्शन गर्ने भएकाले यहाँ आर्टिफिसियल इन्टेलिजेन्स, मोबिलिटी (गतिशीलता), क्वान्टम, डिजिटल हेल्थ (स्वास्थ्य) र सस्टेनेबिलिटीतर्फका अत्याधुनिक आविष्कारहरू केन्द्रमा हुनेछन्।

यो प्रदर्शनीले मिडिया, सरकारी नेताहरू, उद्योगका कार्यकारीहरू र शीर्ष ब्रान्डहरूदेखि लिएर नयाँ स्टार्ट–अपहरूसम्मका विश्वव्यापी कम्पनीहरूलाई एकै ठाउँमा ल्याउनेछ।

कन्ज्युमर टेक्नोलोजी एसोसिएसन (सीटीए) द्वारा उत्पादित ट्रेड शोमा १,४०० स्टार्ट–अपहरू र ३०० भन्दा बढी सम्मेलन सत्रहरूको लागि १,१०० वक्ताहरू सहित ४,५०० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहनेछ।

सीटीएका सीईओ र उपाध्यक्ष ग्यारी शापिरोले उनीहरु अविश्वसनीय शोको लागि ट्र्याकमा रहेको र त्यहाँ सहभागीहरूले एआई र डिजिटल हेल्थ (स्वास्थ्य) मा नवीनतम देखि लिएर उन्नत गतिशीलता, स्मार्ट कम्युनिटिज (समुदायहरू), सस्टेनेबिलिटी र एक्सेसिबिलिटि टेक जस्ता प्रविधिका सबै कुराहरू देख्ने उल्लेख गरे।

सीटीएका अध्यक्ष किन्से फब्रिजियोले आइतबार पत्रकार सम्मेलनमा अमेजन, बीएमडब्ल्यू, बोस, क्याटरपिलर, होन्डा, एलजी, निकोन, पानासोनिक, क्वालकम, सामसङ र सोनीलगायतका ठूला ब्रान्डका प्रदर्शकहरू ट्रेड शोमा उपस्थित हुने बताए।

एनभिडिया संस्थापक र सीईओ जेन्सेन हुआङ्गले सोमबार मुख्य भाषण दिनेछन्।

एआई, डिजिटल हेल्थ (स्वास्थ्य), मोबिलिटी (गतिशीलता) र सस्टेनेबिलिटी जस्ता क्षेत्रहरूका उत्कृष्ट आविष्कारहरू प्रदर्शन गर्ने केही साँच्चै अभूतपूर्व प्रदर्शकहरू छन् र उनीहरूले विश्वका केही ठूला चुनौतीहरू समाधान गर्ने उपायहरू कसरी सिर्जना गरिरहेका छन् भनेर प्रदर्शन गर्दै रहेको फब्रिजियोले बताए।

“यो सबै नवीनताको वरिपरि केन्द्रित छ, र यसको धेरैजसो दिगोपन र संसारलाई अझ राम्रो बनाउनमा केन्द्रित छ” शापिरोले भने। ‘त्यसैले उनीहरूले संयुक्त राष्ट्र संघसँग मौलिक मानव अधिकार, खानामा पहुँच, स्वच्छ हावा, पानी र स्वास्थ्य सेवामा साझेदारी गरेका” थप उल्लेख गरे।

“शोमा रहने यी विषयवस्तुहरू हुन्, र प्रदर्शकहरूले तिनीहरूलाई विभिन्न तरिकामा देखाउँछन्” उनले भने।

जारी गरिएको प्रेस विज्ञप्तिले सीईएस २०२५ मा प्रदर्शन हुने शीर्ष ट्रण्डहरूमा आर्टिफिसियल इन्टेलिजेन्स, स्वास्थ्यमा प्राविधिक आविष्कार, दिगो भविष्यको आकारमा केन्द्रित ऊर्जा ट्रान्जीसन, कृषि, समुद्री प्रविधि र उन्नत हवाई यात्रा समावेश रहेको उल्लेख गरेको छ।

प्रदर्शनीमा प्रविधिहरू सुधार गर्न हार्डवेयर, सफ्टवेयर र एआईले क्वान्टम मेकानिक्स प्रयोग गरेको पनि प्रदर्शन गरिने उल्लेख छ। प्रदर्शकहरूले उत्सर्जन घटाउने र ऊर्जा दक्षता र दिगो र कार्बन–न्युट्रल सामग्रीहरूमा नवाचारहरू सुधार गर्ने उद्देश्यका प्रविधिहरू पनि देखाउनेछन् भनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसको वेबसाइटमा जानकारी अनुसार, सीटीएले ५०५ बिलियन अमेरिकी डलर अमेरिकी कन्ज्युमर टेक्नोलोजी इन्डस्ट्री (उपभोक्ता प्रविधि उद्योग) लाई प्रतिनिधित्व गर्दछ भने यसले १८ मिलियन भन्दा बढी अमेरिकी रोजगारहरूलाई समर्थन गरेको उल्लेख छ।

साथै सीईएस एकै कार्यक्रममा सम्पूर्ण टेक परिदृश्य प्रदर्शन गर्ने एक मात्र ट्रेड शो रहेको वेबसाइटमा उल्लेख रहेको एमएसएन डट कमले उल्लेख गरेको छ।

प्रकाशित: २२ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया