चीनको एक्सपेङ मोटर्स र फक्सवागनबीच द्रुत ईभी चार्जिङ नेटवर्कमा विस्तार गर्ने सहमति

Technology Khabar २२ पुष २०८१, सोमबार

काठमाडौं ।

चीनको एक्सपेङ मोटर्स र फक्सवागनले अल्ट्रा-फास्ट इलेक्ट्रिक वाहन चार्जिङ नेटवर्कमा सहकार्य गर्न साझेदारी विस्तार गर्ने सहमति गरेको सोमबार घोषणा गरेका छन्।

दुवै कम्पनीले एक संयुक्त वक्तव्यमा जनाएको अनुसार, उनीहरूले आफ्ना-आफ्ना फास्ट-चार्जिङ नेटवर्क एकअर्काका ग्राहकहरूका लागि खोल्न सम्झौता गरेका छन्। यो नेटवर्क चीनका ४२० शहरमा फैलिएको २०,००० भन्दा बढी चार्जिङ स्टेसनहरू समेट्छ।

साथै यी कम्पनीहरूले सह-ब्रान्डेड अल्ट्रा-फास्ट चार्जिङ स्टेसनहरूको संयुक्त निर्माण गर्ने सम्भावनाहरू अन्वेषण गर्ने पनि बताएका छन्।

फक्सवागनले एक्सपेङ मोटर्सको ४.९९ प्रतिशत हिस्सा लगभग ७०० मिलियन डलरमा खरिद गरेपछि सन्  २०२३ मा एक्सपेङ र फक्सवागनलबीच साझेदारी सुरु भएको थियो। उनीहरूको योजना २०२६ सम्ममा दुईवटा फक्सवागन-ब्रान्डका ईभी  मोडेलहरू संयुक्त रूपमा सार्वजनिक गर्ने छ।

रोयटर्सका अनुसार फक्सवागनले पछि एक्सपेङसँग मिलेर इन्टेलिजेन्ट र इलेक्ट्रिक कारहरूका लागि नयाँ आर्किटेक्चर विकास गरेको घोषणा गरेको थियो। यसले चीनको सबैभन्दा ठूलो बजारमा सस्तो ईभी उपलब्ध गराउन मद्दत गर्ने फक्सवागनले बताएको छ।

प्रकाशित: २२ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया