मलेसियाको सञ्चार नियामकले वीच्याट र टिकटकलाई दियो नयाँ कानून अन्तर्गत रहेर सञ्चालन गर्ने अनुमति

Technology Khabar १९ पुष २०८१, शुक्रबार

काठमाडौं ।

मलेसियाको सञ्चार नियामकले नयाँ सामाजिक सञ्जाल कानून अन्तर्गत टेनसेन्टको वीच्याट र बाइटडान्सको टिकटकलाई देशमा सञ्चालन गर्न अनुमति दिएको छ। तर केही अन्य प्लेटफर्महरूले भने आवेदन नदिएको बताइएको छ।

बढ्दो साइबर अपराधलाई सम्बोधन गर्न लक्षित यो कानून मलेसियामा ८ मिलियनभन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म र म्यासेजिङ सेवाहरूले अनुमति लिनुपर्ने वा कानूनी कारबाहीको सामना गर्नुपर्ने प्रावधान राखिएको छ। यो कानून जनवरी १ बाट लागू भएको हो।

यसका लागि भिडियो प्लेटफर्म युट्युब सञ्चालन गर्ने गुगलले पनि अनुमति आवेदन दिएको छैन। नियामकले युट्युबको भिडियो सेयरिङ फिचरहरू र यसलाई कानून अन्तर्गतको वर्गीकरणसँग सम्बन्धित चिन्ता उठाएको बताएको छ। तर यी चिन्ता के हुन् भन्ने खुलाएको छैन। यद्यपि, नियामकले युट्युबले कानूनको पालना गर्नुपर्ने बताएको छ।

“अनुमति आवश्यकताहरूको उल्लङ्घन गर्ने प्लेटफर्म प्रदायकहरू अनुसन्धान र नियामकीय कारबाहीको विषय हुन सक्छन्,” नियामकले बताएको छ।

रोयटर्सका अनुसार मलेसियाले २०२४ को शुरूमा सामाजिक सञ्जालमा हानिकारक सामग्रीको ठूलो वृद्धि रिपोर्ट गरेको थियो र मेटा तथा टिकटोकजस्ता प्लेटफर्महरूलाई आफ्ना प्लेटफर्महरूको निगरानी बढाउन आग्रह गरेको थियो।

मलेसियन अधिकारीहरूले अनलाइन जुवा, ठगी, बाल यौन सामग्री, साइबर बुलिङ र जाति, धर्म तथा राजतन्त्रसँग सम्बन्धित सामग्रीलाई हानिकारक ठान्छन्। कम्पनीहरूले आफ्नो प्लेटफर्ममा देशगत प्रयोगकर्ता संख्या सार्वजनिक गर्दैनन्।

स्वतन्त्र डाटा प्रदायक वर्ल्ड पपुलेशन रिभ्यूका अनुसार मलेसियामा वीच्याटका १२ मिलियन प्रयोगकर्ता छन्।

परामर्श फर्म केपिओसका अनुसार, २०२४ को सुरूमा मलेसियामा युट्युबका करिब २४.१ मिलियन प्रयोगकर्ता, टिकटकका २८.६८ मिलियन १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ता, फेसबुकका २२.३५ मिलियन प्रयोगकर्ता, र एक्सका ५.७१ मिलियन प्रयोगकर्ता रहेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १९ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया