Technology Khabar ३ पुष २०८१, बुधबार
काठमाडौं ।
मेटा प्लेटफर्मले सोमबार रे-ब्यान मेटा स्मार्ट चस्मामा अब एआई भिडियो क्षमता र रियल-टाइम भाषा अनुवाद सुविधा थपिएको घोषणा गरेको छ। फेसबुकको अभिभावक कम्पनी मेटाले पहिलो पटक यी सुविधाहरू गत सेप्टेम्बरमा आफ्नो वार्षिक कनेक्ट सम्मेलनमा घोषणा गरेको थियो। यो अपडेट कम्पनीको “अर्ली एक्सेस प्रोग्राम ” मा रहेका सदस्यहरूको लागि उपलब्ध छ।
यी सुविधाहरू भी११ अन्तर्गत आउँछन्, जुन सोमबारदेखि क्रमशः रोलआउट हुँदैछ। नयाँ अपडेटले मेटाको एआई च्याटबट सहायकमा भिडियो सुविधा थपेको छ।
यसले रे-ब्यान स्मार्ट चस्मालाई प्रयोगकर्ताले देखिरहेको कुरालाई प्रोसेस गर्न र तुरुन्त प्रश्नहरूको उत्तर दिन सक्षम बनाउने रोयटर्सले उल्लेख गरेको छ।
स्मार्ट चस्माले अब अंग्रेजी र स्पेनिस, फ्रेन्च वा इटालियन भाषाहरूबीच रियल-टाइम भाषण अनुवाद गर्न सक्छ। “यदि तपाईंसँग ती तीनमध्ये कुनै एक भाषा बोल्ने व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ भने, चस्माको स्पिकरबाट अंग्रेजी अनुवाद सुन्न सकिन्छ वा आफ्नो फोनमा टेक्स्टको रूपमा देख्न सकिन्छ, र यसको उल्टो पनि सम्भव छ,” मेटाले ब्लगमा उल्लेख गरेको छ।
मेटाले स्मार्ट चस्मामा शजाम एप पनि थपेको छ। यसले प्रयोगकर्ताहरूलाई गीतहरू पहिचान गर्न मद्दत गर्छ र यो सुविधा अमेरिका र क्यानडामा उपलब्ध हुनेछ।
सेप्टेम्बरमा मेटाले रे-ब्यान स्मार्ट चस्मामा केही नयाँ एआई सुविधाहरू थपेको घोषणा गरेको थियो, जसमध्ये रिमाइन्डर सेट गर्ने उपकरणहरू र क्यूआर कोड वा फोन नम्बरहरू स्क्यान गर्न भ्वाइस कमान्ड प्रयोग गर्ने क्षमताहरू समावेश छन्।
प्रकाशित: ३ पुष २०८१, बुधबार