Technology Khabar २३ मंसिर २०८१, आईतवार
काठमाडौं ।
बेलायतको प्रतिस्पर्धा नियामक कम्पिटिशन एण्ड मार्केट्स अथोरिटी (सीएमए) ले भोडाफोन र थ्री बीचको १६ अर्ब पाउण्ड (करिब १९ अर्ब डलर) को मर्जरलाई विशेष शर्तसहित स्वीकृति दिएको छ।
सीएमएका अनुसार, दुवै कम्पनीले बेलायतभर फाइभजी नेटवर्क विस्तार गर्न अर्बौं लगानी गर्ने बाध्यकारी प्रतिबद्धता गर्नुपर्नेछ। साथै, मोबाइल शुल्क सीमित राख्न र मोबाइल भर्चुअल नेटवर्क अपरेटरलाई निश्चित दरमा सेवा दिनुपर्ने शर्त राखिएको सीएनबीसीले उल्लेख गरेको छ।
यो मर्जरले भोडाफोनलाई ५१ % को नियन्त्रण दिनेछ, जबकि थ्री को मालिक सीके हचिन्सनले अल्पमत हिस्सा राख्नेछ। मर्जरले २९ मिलियन ग्राहकहरू सहित बेलायतको ठूलो मोबाइल प्रदायक निर्माण गर्नेछ।
सीएमएले मर्जरले प्रतिस्पर्धा कम गर्दै मूल्य बढ्न र सेवामा कटौती हुन सक्ने जोखिममा चिन्ता जनाए पनि, प्रस्तावित उपायहरू लागू भएपछि मर्जरलाई अघि बढाउन अनुमति दिएको छ।
भोडाफोन र थ्री ले आठ वर्षभित्र आफ्नो फाइभज 5G नेटवर्क बनाउने, तीन वर्षसम्म निश्चित मोबाइल शुल्क कायम राख्ने, र एमभीएनओका लागि निश्चित मूल्य र सेवा शर्त प्रस्ताव गर्ने प्रतिबद्धता जनाएका छन्।
भोडाफोनका सीईओ मार्गरिटा डेला भालेका अनुसार यो निर्णयले बेलायतको दूरसञ्चार क्षेत्रमा नयाँ युगको सुरुवात गर्छ र देशलाई योग्य नेटवर्क पूर्वाधार निर्माणमा लगानी खोल्छ।
सीएमए र अफकमले मर्जरपछिको प्रतिबद्धता र शर्तहरूको निगरानी गर्नेछन्। यो सम्झौता २०२५ को पहिलो छमासम्ममा औपचारिक रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।
विश्लेषकहरूले भने पूर्ण फाइदा देखिन वर्षौं लाग्ने बताएका छन्। पेस्काटोरका अनुसार, यो सम्झौताको दीर्घकालीन प्रभाव देख्न अझै समय लाग्नेछ।
प्रकाशित: २३ मंसिर २०८१, आईतवार