Technology Khabar २० मंसिर २०८१, बिहीबार
काठमाडौं ।
चीनका चार प्रमुख उद्योग संघहरूले संयुक्त रूपमा मंगलबार चिनियाँ कम्पनीहरूले अमेरिकी चिप खरिद गर्दा सावधान रहनुपर्ने चेतावनी जारी गरेका छन्।
उनीहरूले अमेरिकी चिप “अब सुरक्षित छैनन्” भन्दै स्थानीय चिपहरू खरिद गर्न आग्रह गरेका छन्। यो चेतावनी वासिङ्टनले चिनियाँ चिप निर्माता कम्पनीहरूमाथि लगाएको प्रतिबन्धको प्रतिक्रियामा आएको हो।
पछिल्लो केही दिनमा चीन र अमेरिकाले एकअर्काका अर्थतन्त्रलाई लक्षित गर्दै तनाव बढाएका छन्। यो कदम जनवरीमा अमेरिकी राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पुनरागमन हुनु अघि नै लिइएको हो। ट्रम्पले चिनियाँ आयातित सामानमा भारी शुल्क लगाउने प्रतिबद्धता जनाएका छन्, जसले उनको पहिलो कार्यकालमा सुरु भएको व्यापार युद्धलाई फेरि जीवन दिन सक्छ।
रोयटर्सका अनुसार सोमबार अमेरिकाले तीन वर्षभित्र चिनियाँ सेमिकन्डक्टर उद्योगमाथि गरेको तेस्रो कडाइ घोषणा गर्यो। यसअन्तर्गत १४० कम्पनीहरूमाथि निर्यात प्रतिबन्ध लगाइएको छ। यी कम्पनीहरूमा चिप उपकरण निर्माता नउरा टेक्नोलोजी ग्रुप पनि समावेश छ।
उद्योग संघहरूले दिएको सल्लाहले एनभिडिया, एएमडी, र इन्टेलजस्ता अमेरिकी चिप निर्माताहरू लाई असर गर्न सक्छ। यी कम्पनीहरूले निर्यात नियन्त्रणका बाबजुद चिनियाँ बजारमा उत्पादन बेच्न जारी राखेका छन्। तर यी तीन कम्पनीहरूले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन्।
चिनियाँ संघहरूको यस्तो कदमले देशभित्रै चिप विकासलाई प्रोत्साहित गर्ने र विदेशी निर्भरता घटाउने रणनीतिको हिस्सा भएको अनुमान गर्न सकिने रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: २० मंसिर २०८१, बिहीबार