टेलिकमको टावर नहुँदा पाल्पाको दुर्गम गाउँका बासिन्दा फोन र इन्टरनेटबाट वञ्चित

  • Technology Khabar | १६ मंसिर २०८१, आईतवार
टेलिकमको टावर नहुँदा पाल्पाको दुर्गम गाउँका बासिन्दा फोन र इन्टरनेटबाट वञ्चित

काठमाडौं ।

मोबाइल फोनको टावरले काम नगर्दा दुर्गम भेगका बासिन्दा फोन र इन्टरनेट सेवाबाट वञ्चित भएका छन्। नेपाल टेलिकमको टावर नहुँदा पाल्पाको माथागढी गाउँपालिका ५ र ६ का स्थानीय बासिन्दा फोन र इन्टरनेट सेवाबाट बञ्चित भएका हुन्।

माथागढीको दुई वडाका १० भन्दा बढी गाउँमा अहिले पनि टावर विस्तार नहुँदा फोन सेवाबाट स्थानीय बासिन्दा वञ्चित छन्। माथागढी ५ को हात्तीलुङ, मौलाथर, ढाडकुन, बशीडाँडा, मझुवा, तारुक, बंगबास, दमार माथागाउँ मोबाइल सेवाबाट वञ्चित भएका छन्। यस्तै वडा न. ६ को केही गाउँमा पनि मोबाइलको टावरले काम नगरेको स्थानीय बासिन्दाको गुनासो छ।

टेलिकमको टावरले काम नगर्दा आफूहरूले फोन सेवासमेत प्रयोग गर्न नपाएको स्थानीय बासिन्दा टोपकुमार सारूले गुनासो गरे। “नेपाल टेलिकमको टावर बडा नं. ६ को भुटुकेमा छ तर त्यसले बडा नं. ६ कै केही गाउँ र वडा नं. ५ का सबै जसो गाउँमा टावर नटिप्ने समस्या छ” उनले भने। टावरले काम नगर्दा मोबाइलमा पाइने इन्टरनेट सेवाबाट समेत आफूहरू वञ्चित भएको सारूको भनाई छ।

यस भेगका लागि छुट्‌टै टावर राख्नुपर्ने भए पनि हालसम्म पनि टावर स्थापना नभएको जनप्रतिनिधि बताउँछन्। यहाँका बासिन्दाको पहुँच पुग्ने गरी टावर स्थापना गर्न पटक पटक टेलिकमलाई भने पनि समस्या समाधान नभएको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिटोले बताए।

टावरले नटिप्ने वडा नं. ५ सहितका गाउँका मानिसले मोबाइलको फोन र इन्टरनेट सेवा लिन नसकेको उनले बताए। स्थानीय बासिन्दा फोन सेवा लिन अर्कै गाउँमा जानुपर्ने बाध्यता रहेको छ। नेपाल टेलिकमले भने यो वर्ष टावर विस्तार गर्ने योजना रहेको जनाएको छ।

यो वर्ष त्यस भेगलाई समेट्ने गरी टावर राख्नका लागि पालिकासँग छलफल भइरहेको नेपाल टेलिकम पाल्पाका सूचना अधिकारी श्रीराम
रेग्मीले बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: १६ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार