नासाको आगामी कस्मिक इमेजर बन्न प्रतिस्पर्धा गर्दैछन् यी दुई अन्तरिक्ष टेलिस्कोप

Technology Khabar १६ मंसिर २०८१, आईतवार

काठमाडौं ।

नासाको नयाँ “प्रोब” श्रेणीको अन्तरिक्ष मिशनमा पहिलो बन्न प्रतिस्पर्धा गरिरहेका दुई सम्भावित अन्तरिक्ष टेलिस्कोपका समूहहरूले अन्तिम डिजाइन अध्ययन सुरु गरेका छन्।

स्पेस डटकमका अनुसार प्राइमा (Probe far-Infrared Mission for Astrophysics) टेलिस्कोपले सबैभन्दा लामो इन्फ्रारेड तरङ्गहरू अध्ययन गर्नेछ, जसले जेम्स वेब स्पेस टेलिस्कोप ले देख्न सक्ने नियर र मिड-इन्फ्रारेड तरङ्गहरू र रेडियो टेलिस्कोपले अध्ययन गर्ने तरङ्गहरूको बीचको खाडललाई भरिनेछ।

गत नोभेम्बर ८ मा नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका जेसन ग्लेनले नेतृत्व गरेको  अमेरिका र युरोपका अनुसन्धानकर्ताहरू सहभागी भएको प्राइमा टोलीलेक्यालिफोर्नियाको जेट प्रपल्सन ल्याबरेटरीमा डिजाइन अध्ययनको सुरुवात गर्ने कार्यशालाका लागि भेला भए।

प्राइमाको प्रतिस्पर्धी मिशन एएक्सआईएस (Advanced X-ray Imaging Satellite) हो। म्यारिल्याण्ड विश्वविद्यालयका क्रिस रेनोल्ड्सद्वारा नेतृत्व गरिएको यो मिशनले जेम्स वेबले पत्ता लगाएका प्रारम्भिक ब्रह्माण्डका टाढाका ग्यालेक्सीभित्र रहेका ब्ल्याक होलहरूको अध्ययन गर्नेछ।

साथै यो मिशनले सक्रिय ब्ल्याक होल र सुपरनोभा विस्फोटले ग्यालेक्सीहरूमा पार्ने प्रभाव अध्ययन गर्ने योजना बनाएको छ। एक्सिसले विस्फोट हुने ताराहरू, गामा-रे विस्फोट, चुम्बकीय न्युट्रोन ताराहरूमा हुने गडबडी, वा ब्ल्याक होलमा हुने अचानक पदार्थ सङ्कलन जस्ता क्षणिक घटनाहरू पनि निगरानी गर्नेछ ।

दुवै टोलीलाई आफ्नो डिजाइन प्रमाणित गर्न २०२६ सम्म समय दिइएको छ। हरेकले ५ मिलियन डलर अनुदान पाएका छन्, र छनोट गरिएको मिशन २०३२ मा प्रक्षेपण हुनेछ।

प्राइमाको समर्थन जर्मनीको हेडलबर्गस्थित म्याक्स प्लाङ्क इन्स्टिच्युट फर एस्ट्रोनोमी ले गरिरहेको छ। यो इन्स्टिच्युटले मिशनका लागि महत्वपूर्ण उपकरण निर्माण गर्नेछ, जसमध्ये दुईवटा उच्च-परिशुद्धता, सक्रिय रूपमा नियन्त्रण गरिने बीम-स्टियरिङ ऐनाहरू (“टु-एक्सिस फोकल-प्लेन चपर्स”) पनि समावेश छन्। यी ऐनाहरूले प्राइमाको १.८ मिटर (५.९ फिट) चौडाइको एल्युमिनियम ऐनामा प्रतिबिम्बित हुने प्रकाशलाई सेन्सरहरूतर्फ निर्देशित गर्नेछन्।

प्राइमा ले दुई उपकरणहरू प्रयोग गर्नेछ: PRIMAger जसले फोटो खिच्छ र अर्को फाइरेस (Far-Infrared Enhanced Survey Spectrometer): दूर-इन्फ्रारेड प्रकाशको विश्लेषण गर्छ।

यसले २४ देखि २६१ माइक्रोन तरङ्ग दायरामा प्रकाश अध्ययन गर्नेछ। JWST ले मिड-इन्फ्रारेडको २८.३ माइक्रोनसम्म अध्ययन गर्न सक्छ। प्राइमा नासाको  स्पिट्जर स्पेस टेलिस्कोप र युरोपेली अन्तरिक्ष एजेन्सीको हेर्शेल स्पेस अब्जर्भेटरीभन्दा १०० गुणा बढी संवेदनशील हुनेछ।

यो टेलिस्कोपले युवास्तारहरू वरपर रहेका ग्रह निर्माण डिस्कहरूको रासायनिक संरचना विस्तारमा अध्ययन गर्न सक्षम हुने प्राइमा टोलीले दाबी गरेको छ।

प्रकाशित: १६ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया