
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर
काठमाडौं ।
चालु आर्थिक वर्ष २०8१/८२ मा नेपाल टेलिकमको प्रथम त्रैमासिक आम्दानी आधा अर्ब भन्दा धेरैले घटेको छ।
आज कम्पनीले जारी गरेको वित्तीय प्रतिवेदअनुसार कम्पनीको आम्दानी ५८ करोड ५० लाख ५७ हजारले घटेको छ भने नाफा २८ करोड ७८ लाख ४१ हजारले कमी भएको देखिएको छ।
प्रथम त्रैमासिकसम्म कम्पनीको कुल आय रु. १० अर्व ६ करोड ३७ लाख ३५ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोहि त्रैमासिकको कूल आय रु. १० अर्व ६४ करोड ८७ लाख ९२ हजारको तुलनामा रु. ५८ करोड ५० लाख ५७ हजारको (अर्थात् ५.४९ प्रतिशत) ले कमी भएको छ।
यसैगरी, यस आ.व. को कुल सञ्चालन आय रु. ८ अर्व ६८ करोड १ लाख ८५ हजार रहेकोमा, उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु ८ अर्व ५८ करोड ५० लाख ६३ हजारको तुलनामा रु. ९ करोड ५१ लाख २२ हजारको (अर्थात् १.११ प्रतिशत) ले बढेको देखिन्छ।
कम्पनीले यस आ.व. मा खुद मुनाफा रु. १ अर्व ७३ करोड ९५ लाख ८९ हजार गरेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा रु. २ अर्व २ करोड ७४ लाख ३१ हजारको तुलनामा रु.२८ करोड ७८ लाख ४१ हजार (अर्थात् १४.२० प्रतिशत) ले कमी भएको तथ्यांकमा उल्लेख छ।
यस आ.व. को कर अघिको मुनाफा रु.३ अर्व ५५ करोड ३६ लाख ९३ हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. ३ अर्व ३३ करोड ९३ लाख ४३ हजारको तुलनामा रु. २१ करोड ४३ लाख ५० हजार (अर्थात् ६.४२ प्रतिशत) ले बढी भएको छ।
यसैगरी कम्पनीको प्रति शेयर आम्दानी समेत घटेर रु. ३८.६६ मा पुगेको छ।
कम्पनीले आम्दानी र नाफा गुम्नुमा विभिन्न कारणहरु रहेको दाबी गरेको छ।
गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेको:-
- OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आ.व. को तुलनामा करिब रु. १९ करोड ४२ लाख ४४ हजारले कमी भएको । साथै OTT सेवाले कम्पनीको समग्र Voice/SMS सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ ।
- राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
- सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको।
- सेवा संचालनको लागि आवश्यक ब्याण्डविथ बिगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा संचालन खर्चमा कमी आएको।
- कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु. २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पौष देखि लगानी गर्न नसकेको तथा सो सम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ५७ करोड ९८ लाखले कमी भएको।
- कम्पनीले गत आ.व. देखि योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदा बापत डिफाइन्ड बेनिफिट अब्लिगेसन (Defined benefit Obligation)को लागि राखिएको डिफाइन्ड बेनिफिट एसेट्स (Defined Benefit Assets) मा चालु आ.व.मा रु. ९ अर्ब १ करोड रकम छुट्टाई नेपाल लेखामान १९ इम्प्लोई बेनिफिट (Employee Benefit) अनुसार एक्चुअल भ्यालुएसन (Actuarial Valuation) गराई खर्च लेखांकन गरेको ।
- कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा डिफाइन्ड बेनिफिट एसेट्समा रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको।
प्रकाशित: ३० कार्तिक २०८१, शुक्रबार