Technology Khabar १७ भाद्र २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । इसेवा पसलले औपचारिकरुपमा कारोबार शुरु गरेको छ । भाटभटेनीअनलाइन डटकमलाई रिब्राण्डिंग गरि टेक कम्पनी एफवान सफ्ट इन्टरनेशनलले नयाँ नाममा आइतवारदेखि कारोबार शुरु गरेको जानकारी दिएको छ ।
इसेवा पसल डटकमका (esewapasal.com) प्रमुख कार्यकारी अधिकृत मनिष श्रेष्ठले ग्राहकहरुलाई अनलाइन सपिंगमा आकर्षित गर्नेगरि ईसेवा पसल शुरु गरिएको बताए ।
कम्पनीले सेवा शुरु गरेको उपलक्ष्यमा अनलाईन खरिदकर्ताहरुलाई विभिन्न छुट योजना पनि सार्वजनिक गरेको छ ।
इसेवा पसल डटकममा सामान खरिदका लागि ईसेवामार्फत भुक्तानी गर्नेलाई ५ प्रतिशतको क्यासब्याक दिने छ भने नबिल बैंकको भिसा कार्डमार्फत अनलाइन रकम भुक्तानीमा २५ प्रतिशत र कार्ड अन डेलिभरी गर्दा १० प्रतिशतको क्यासब्याक दिईने जानकारी दिएको छ ।
सो कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ३ हजार रुपैयाँको अधिकतम भुक्तानी लिमिट तोकिएको जानकारी दिँदै क्यासब्याक रकम सेवाग्राहीको खातामा नै जम्मा हुने जानकारी दिए ।
त्यस्तै कम्पनीले ग्राहकहरुले अनलाइनमा सामान अर्डर गरेको २४ घण्टा भित्र पुर्याउने गरि निशुल्क होम डेलिभरी गरिदिने जनाएको छ ।
कम्पनीले हाल १५ हजार भन्दा बढि प्रडक्टहरु अनलाईनमा राखेको जानकारी दिएको छ । हाल कम्पनीले काठमाडौं उपत्यका भित्र मात्र सेवा दिईरहेको र आगामी दिनमा नेपालभरी नै सेवा बिस्तार गर्ने जानकारी दिएको छ ।
कम्पनीले आगामी दिनमा किस्ताबन्दीमा सामान किन्न पाईने सुविधा पनि ल्याउने जानकारी दिएको छ । त्यस्तै उत्सव अवसर पारेर कम्पनीले ग्राहकहरुलाई उपहार दिने योजना पनि संचालन गर्ने जनाएको छ ।
https://www.youtube.com/watch?v=CgOJwbvHJUA&feature=youtu.be
प्रकाशित: १७ भाद्र २०७५, आईतवार