Technology Khabar २१ कार्तिक २०८१, बुधबार
काठमाडौं ।
सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको छ।
शर्ट भिडियो प्लेटफर्मको दर्ता प्रक्रिया तिहारअघि नै प्रक्रिया पूरा भइसकेको भए पनि मङ्गलबार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको प्रमाणपत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।
टिकटकले आवश्यक कागजात पेस गरेसँगै विधिवत रूपमा दर्ता गरिएको प्रवक्ता ठाकुरले बताए।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ठाकुरले भने, ‘‘टिकटक औपचारिकरूपमा सूचीकृत भएको छ। टिकटकले करदाता नम्बर र प्यान नम्बर पनि लिएको छ।’’
प्रवक्ता ठाकुरका अनुसार टिकटकले गत असोजको चौथो हप्ता अर्थात् दशैंको ठिक अगाडि नेपाल सरकारको शर्त र कानूनी व्यवस्था अनुरुप दर्ता हुनका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आवेदन दिएको थियो।
‘मन्त्रालयको सामाजिक सञ्जाल निर्देशिका अनुरुप टिकटकले अक्टोबरको दोस्रो हप्ता दर्ताका आवेदन दिएको थियो। त्यसलाई अध्ययन गरेर तिहारअघि दर्ता प्रकिया पूरा गरेर हिजो आधिकारिक रुपमा प्रमाणपत्र दिइएको हो’, प्रवक्ता ठाकुरले टेक्नोलोजीखबरलाई बताए।
टिकटकले नेपालमा साइबर अपराधको अनुसन्धान र जनचेतना अभिवृद्धिमा सघाउने प्रतिबद्धता जनाएको भने नेपालको कानुन तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता व्यक्त गरेको छ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो। तर करिब साढे नौ महिनापछि वर्तमान सरकारले २०८१ भदौ ६ मा मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै सर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो।
प्रकाशित: २१ कार्तिक २०८१, बुधबार